काठमाडौं– चन्द्रपुर नगर उद्योग वाणिज्य संघको निर्वाचनमा चार दलीय गठबन्धनलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) निकट उम्मेदवार उदय नारायण सापकोटा अध्यक्षमा निर्वाचित भएका छन् ।
पूर्वप्रधानमन्त्री माधव नेपाल र प्रभु साहको प्रभाव क्षेत्र रहेको रौतहटमा नेपाली कांग्रेस, एमालेसहितको गठबन्धनका साझा उम्मेदवार सुनिल साहलाई पराजित गर्दै सापकोटाले ५०२ मत प्राप्त गरे ।
साहले २६९ मत ल्याए । सापकोटा झन्डै दोब्बर मतले विजयी भएका हुन् ।
८०२ मत खसेको निर्वाचनमा कुल १,०९७ मतदाता रहेका थिए ।
अन्य पदका उम्मेदवारहरू भने निर्विरोध निर्वाचित भएका छन् ।
विजयी भएपछि सापकोटाले चन्द्रपुरको पहिचान र व्यवसायी हितमा सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन् ।
रास्वपा अध्यक्ष रवि लामिछानेमाथि भएको राजनीतिक प्रतिशोधविरुद्ध हस्ताक्षर अभियान चलिरहेका बेला भएको यस जितलाई रास्वपाले सशक्त सन्देशको रूपमा लिएको छ ।























