images
images
  • काभ्रेपलाञ्चोकको भुम्लुका उपाध्यक्षलाई लागुऔषध मुद्दामा कैद सजाय भएको खुलासा

    काठमाडौं– काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिकाका उपाध्यक्ष दावा लामा भनिने जितेन्द्रबहादुर तामाङलाई लागुऔषध मुद्दामा अदालतले दोषी ठहर गरी पाँच वर्ष कैद सजाय भएको खुलेको छ । सात वर्षअघि नै उच्च अदालतले उनलाई दोषी ठहर गरी सजाय सुनाएकोमा सर्वोच्च अदालतबाट भने मुद्दा टुंगिन बाँकी छ ।

    २ भदौ ०७१ मा लामालाई प्रहरीले काठमाडौंको जोरपाटीबाट १४.८ ग्राम खेरौ हेरोइनसहित पक्राउ गरेको थियो । जुन मुद्दामा उनले जिल्ला अदालतबाट सफाइ पाएकोमा उच्च अदालतले उनलाई पाँच वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला गरेको खुलेको छ । अदालतले दोषी ठहर गरेकै अवस्थामा उनी गाउँपालिका उपाध्यक्षमा कांग्रेसबाट उठेर जितेका हुन्‌ ।

    १६ असोज ०७५ मा उच्च अदालत, पाटनका न्यायाधीशद्वय नगेन्द्रकुमार सिवाकोटी र रामप्रसाद अधिकारीको इजलासले जिल्ला अदालत, काठमाडौंको फैसला उल्टाउँदै दोषी ठहर गरेको थियो ।

    उच्चको फैसलामा भनिएको छ, ‘प्रतिवादीमध्येका दावा लामा भन्ने जितेन्द्र तामाङका साथबाट लागुऔषध १४.८० ग्राम बरामद भएको कुरा बरामदी मुचुल्काबाट देखिएको र सो कुरालाई प्रतिवेदकले बकपत्रसमेत गरेको देखिएको अवस्थामा निज प्रतिवादीलाई आरोपित गरिएको लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा ४ खण्ड घ र च को कसुरमा ऐनको दफा १४(१) बमोजिम सजाय गर्नुपर्नेमा निजलाई अभियोग दाबीबाट सफाइ दिने गरी काठमाडौं जिल्ला अदालतबाट भएको ०७२/०८/२७ मा भएको फैसला सो हदसम्म मिलेको देखिन नआउँदा उक्त फैसला केही उल्टी भई प्रतिवादी दावा लामा भन्ने जितेन्द्र तामाङलाई अभियोग दाबीको कसुरमा लागुऔषध नियन्त्रण ऐन २०३३ को दफा १४(१) र ६(१)बमोजिम पाँच वर्ष कैद र पाँच हजार जरिवाना हुने ठहर्छ ।’

    उनीसँगै पक्राउ परेका प्रवीण खड्का र वीरेन्द्रबहादुर कुँवरसँग भने लागुऔषध बरामद नभएका आधारमा सफाइको फैसला भएको थियो ।

    सो फैसलाउपर १९ चैत ०७५ मै सर्वोच्च अदालतमा पुनरावेदन भएको थियो । सात वर्ष हुनलाग्दा पनि सर्वोच्चले फैसला दिन सकेको छैन ।

    गाउँपालिका उपाध्यक्ष तामाङ राजनीतिमा लाग्नुअघि गुन्डागर्दीलगायत विभिन्न अपराधमा पक्राउ परेका थिए ।

    ०७१ म पनि गुन्डागर्दीको आरोपमा प्रहरीले पक्राउ गर्दा उनीसँग लागुऔषध भेटिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images