images
images
  • धार्मिक, सांस्कृतिक र प्राकृतिक सौन्दर्यको संगम पाथिभरा

    काठमाडौं– नेपालको पूर्वी भागमा अवस्थित पाथिभरा देवी मन्दिर धार्मिक, सांस्कृतिक, र प्राकृतिक सौन्दर्यको सङ्गम हो। ताप्लेजुङ जिल्लाको याङवरक गाउँपालिका क्षेत्रमा समुद्री सतहदेखि ३,७९४ मिटर (१२,४४८ फिट। उचाइमा रहेको पाथिभरा देवीलाई नेपालकै शक्तिशाली ‘शक्तिपीठ’ का रूपमा पूजा गरिन्छ ।

    पाथिभरा देवी मन्दिर हिन्दू धर्मावलम्बीका लागि मात्र नभई लिम्बु समुदायका लागि पनि विशेष आस्थाको केन्द्र मानिन्छ । लिम्बु संस्कृक्तिमा यस स्थानलाई ‘मुक्कुमलुङ’ भनेर चिनिन्छ, जसको अर्थ ‘पवित्र स्थान’ हो ।

    पौराणिक कथा अनुसार पाथिभरा देवीको उत्पत्तिसंग सम्बन्धित विभिन्न किंवदन्तीहरू प्रचलित छन् । स्थानीय किवदन्ती अनुसार, परापूर्वकालमा एकपटक स्थानीय गोठालाहरूले आफ्ना भेडाहरू यस क्षेत्रमा चराउन ल्याउँदा अचानक हराए ।

    दुःखी भएका ती गोठालाहरूलाई सपनामा देवी पाथीभराले भेडाको बलि चढाएर आफ्नो सम्मानमा मन्दिर निर्माण गर्न आदेश दिइन् । गोठालाहरूले उक्त आदेश पालना गरेपछि हराएका भेडाहरू फिर्ता आए । त्यसपछि देबीलाई खुसी पार्न बलि चढाउने परम्परा सुरु भयो र उक्त स्थानमा मन्दिर स्थापना गरी पूजा गर्न थालियो । यसरी, पाथिभरा देवीलाई मनोकामना पुरा गर्ने देवीको रूपमा मानिन्छ ।

    त्यसैगरी, मन्दिरको इतिहासअनुसार, लिम्बु समुदायले उक्त पहाडको चुचुरोमा रहेको ठूलो चट्टानलाई पवित्र मानेर पूजा गर्ने । सन् १९९५ मा पाथिभरा क्षेत्र विकास समिति गठन भयो र सन् २००१ मा उक्त पवित्र चट्टानको स्थानमा देवी दुर्गाको मूर्ति स्थापना गरियो । मन्दिरको वास्तुकला हेर्ने हो भने, परम्परागत नेपाली शैलीमा निर्मित छ, जसमा हिन्दू र किरांती परम्पराका विशेषताहरू समेटिएका छन् ।

    पाथिभरा देवीलाई शक्तिशाली देवी मानिने भएको हुनाले नेपालका विभिन्न स्थानहरूबाट मात्र नभई भारत, भुटान लगायतका देशहरूबाट पनि भक्तजनहरू देवीको दर्शन गर्न र आफ्नो मनोकामना पूरा हुने आशाका साथ पूजा गर्न आउँछन्, जसमा सन्तान प्राप्ति, व्यापारमा सफलता, स्वास्थ्य लाभ र धन सम्पत्तिको कामना प्रमुख छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images