काठमाडौं– नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टी फुट्ने प्रचारको खारेज गर्दै आफू माओवादीमै अडिग रहने स्पष्ट पारेका छन् ।
स्थायी कमिटी बैठकमा बोल्दै उनले पार्टी निर्माणका सवालमा प्रश्न उठाएको कारण कुनै सजाय भोग्न तयार रहेको बताएका छन् ।
शर्माले २०७४ मा प्राप्त ३१ लाख मत २०७९ मा घटेर ११ लाखमा झर्नुमा कमजोरी रहेको भए आत्मालोचना गर्न तयार रहेको बताए ।
तर उनले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पनि आत्मसमीक्षा गर्नुपर्ने संकेत गरे ।
उनले माओवादीको वैचारिक विचलन, वर्गप्रति प्रतिबद्धताको कमी, किसान–मजदुरको बाटो छोड्ने प्रवृत्तिप्रति असन्तुष्टि जनाउँदै प्रचण्ड नेतृत्वकै आलोचना गरे ।
अर्थमन्त्रीका हैसियतले ल्याएका किसान पेन्सन, कृषि स्वयंसेवक, बाँझो जमिन उपयोगजस्ता कार्यक्रम प्रचण्डले कार्यान्वयन नगरेको आरोप पनि उनले लगाए ।
संघीयताको कार्यान्वयनमा मुख्य नेतृत्व इमान्दार नभएको र त्यसले प्रदेशहरू कमजोर बनाएको भन्दै उनले संघीयताको अवमूल्यन गरिएको टिप्पणी गरे ।
शर्माले जातीय, वर्गीय र पहिचानका मुद्दा भुलिएको बताए ।
शान्ति प्रक्रिया र नयाँ संविधानपछि पार्टी पुनर्संरचना गर्न नसक्नु, वैचारिक अस्पष्टता, संगठनात्मक संकट र जनताको अपेक्षाअनुसार पार्टीलाई प्रतिस्पर्धात्मक धारमा लैजान नसक्नु प्रमुख चुनौती भएको उनले बताए ।
गत केन्द्रीय समिति बैठकमा महाधिवेशन मंसिरमा गर्ने, समाजवादी मोर्चा बलियो बनाउने, संसद्लाई प्रभावकारी बनाउने र सरकारतिर नहेर्ने प्रतिबद्धता गरिएको भए पनि ती कार्यान्वयनमा कमजोर भएको उनले टिप्पणी गरे ।
अभियान सुरुवातमा उत्साहजनक रहे पनि पछि नेतामुखी र गुटमुखी बन्दै गएको, कार्यविभाजन पूर्वाग्रही ढंगले गरिएको, एकताबाट आएका नेताहरूलाई अपमान गरिएको भन्दै अध्यक्ष प्रचण्डमाथि शर्माले गम्भीर आरोप लगाए ।
उनले निष्कर्षमा भने, ‘पार्टी फुट्दैन। बहसबाटै समाधान खोजौं, आरोप–प्रत्यारोपले होइन ।’























