काठमाडौं– पूर्वनवयुवराज हृदयन्द्र शाहको जन्मदिनको अवसर पारेर बुधबार सार्वजनिक गरिएको जुम्ला यात्रा भ्लग सामाजिक सञ्जालमा निकै रुचाइएको छ ।
‘हृ बी बी’ नामक आधिकारिक फेसबुक पेजमार्फत राति ८ः२७ बजे सार्वजनिक गरिएको १५ मिनेट २३ सेकेन्डको उक्त भिडिओ २ लाख १८ हजारभन्दा बढीपटक हेरिसकिएको छ ।
भिडिओ सार्वजनिक भएको केही घण्टामै विभिन्न सामाजिक सञ्जाल प्रयोगकर्ता तथा सञ्चार माध्यमहरूले पनि उक्त सामग्री पूर्णरूपमा वा सम्पादित स्वरूपमा आफ्ना प्लेटफर्महरूमा साझा गरेका छन् ।
भ्लगमार्फत हृदयन्द्रले जुम्लाको प्राकृतिक सुन्दरता, स्थानीय संस्कृति र जनजीवनलाई प्रस्तुत गरेका छन् ।
भिडिओ हेर्नेहरूले उनको शालीन र सरल व्यवहारको प्रशंसा गरेका छन् ।
भ्लगमा उनले स्थानीयहरूसँग सहज ढंगले संवाद गर्दै जुम्लालाई चिनाउने प्रयास गरेका छन् ।
जेठ महिनाको अन्त्यतिर हृदयन्द्र आमा हिमानी शाहसँगै जुम्ला पुगेका थिए ।
त्यही बेला हिमानी ट्रस्टले निर्माण गर्न लागेको बर्थ सेन्टरको शिलान्यास कार्यक्रममा उनी साबेलले माटो उठाउँदै गरेको दृश्य सामाजिक सञ्जालमा भाइरल बनेको थियो ।
नवभ्लगको सुरु हृदयन्द्रले तिला नदी किनारको ढुंगामा बसेर गरेका छन् ।
त्यसपछि उनी स्थानीयहरूसँग कुराकानी गर्दै जुम्लाको स्याउ फार्म, डुडुल चैत्य, कर्णाली प्राविधिक विद्यालयलगायत स्थान पुगेका छन् ।
उनी काठमाडौँबाट जुम्ला पुगेका एक युवा उद्यमीको कफी सपमा पनि पुगेका छन् ।
त्यहाँ उनले मिल्क कफी मगाउँछन् र केक खान्छन् ।
युवाले रोजगारीका लागि विदेश जाने प्रवृत्तिका बीच जुम्लामा बसेर व्यवसाय सुरु गरेको देखेर हृदयन्द्रले उनको प्रशंसा गर्छन् ।
त्यसपछि हृदयन्द्र राजा महेन्द्र शाहको पालामा स्थापना गरिएको कर्णाली प्राविधिक विद्यालयको अवलोकनमा जान्छन् ।
त्यहाँ उनले विद्यार्थीहरू र स्थानीय बमन उपाध्यायसँग विद्यालय भ्रमण गर्छन् ।
भ्लगको अन्त्यतिर उनी डुडुल चैत्य पुग्छन् जहाँ स्थानीय पञ्चकली बुढासँग संवाद हुन्छ ।
पञ्चकलीले उनलाई जुम्लाको सांस्कृतिक जानकारी दिँदै भाका गीत पनि सुनाउँछिन् ।
कुराकानीका क्रममा उनले हृदयन्द्रसँग देश कहिले समृद्ध हुन्छ भनेर प्रश्न गर्छिन् ।
जवाफमा हृदयन्द्र भन्छन्, ‘मान्छेले राम्रो काम गर्यो भने, सबै कुरा राम्ररी चल्यो भने हुन्छ होला ।
अलिक हामी पनि लाग्नुपर्छ, अलिकति आँट गर्नुपर्छ, अनि सम्भव होला ।’
त्यस क्रममा हृदयन्द्रले आफू ब्याचलर्स अध्ययनका लागि मात्रै विदेश गएको र पढाइपछि नेपाल फर्किने बताएका छन् ।
भ्लगको अन्त्यमा उनले पहिलो पटक जुम्ला आएर पाएको अनुभव बाँडेका छन् र भविष्यमा फेरि जुम्ला आउने प्रतिबद्धता जनाएका छन् ।
यो भ्लगले पूर्वनवयुवराज हृदयन्द्र शाहको जीवनशैलीमात्र होइन, जुम्लाको मौलिकता र सम्भावनाहरूलाई पनि उजागर गरेको छ ।























