काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अतिकम विकसित राष्ट्र (LDC) बाट विकासशील राष्ट्रमा स्तरोन्नति हुँदै गर्दा मुलुकको अन्तरराष्ट्रिय छवि बलियो बन्दै आत्मनिर्भरतातर्फ अघि बढेको बताएका छन् ।
राष्ट्रिय सभामा एलडिसी ग्र्याजुएसनसम्बन्धी अध्ययन प्रतिवेदनमाथिको छलफलमा प्रतिक्रिया दिँदै उनले स्तरोन्नतिले नेपालको कन्ट्री रेटिङ सुधारिने र लगानीमैत्री वातावरण बन्ने विश्वास व्यक्त गरे ।
सन् १९७१ मा संयुक्त राष्ट्रसंघले नेपाललाई अतिकम विकसित राष्ट्रको सूचीमा राखेको थियो ।
अब ५५ वर्षपछि, नेपाल अन्य सात मुलुकसँगै मङ्सिरमा विकासशील राष्ट्रमा स्तरोन्नति हुँदैछ ।
प्रधानमन्त्री ओलीले ‘सगरमाथा संवाद’ र ‘लगानी सम्मेलन’ जस्ता पहलहरूमार्फत आर्थिक कूटनीति मजबुत बनाइएको जनाए ।
उनले १५औं र १६औं योजनाबाट राष्ट्रिय लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’ साकार हुँदै गएको दाबी गरे ।























