
काठमाडौं– भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आगामी दिनमा आफ्नो पदबाट राजीनामा दिन सक्ने चर्चा पुनः तातेको छ। दक्षिण एसियाकै सबैभन्दा प्रभावशाली नेताको पदत्यागबारेको यो चर्चा भारतीय जनसंघ (भाजपा)को मातृ संगठन राष्ट्रिय स्वयंसेवक संघ (RSS) का प्रमुख मोहन भागवतको पछिल्लो टिप्पणीसँग जोडिएको छ।
भर्खरै सम्पन्न एक सार्वजनिक कार्यक्रममा भागवतले आरएसएसका दिवंगत वरिष्ठ नेता मोरोपंत पिंगलेको विचार स्मरण गरे, जसमा पिंगले ७५ वर्षको उमेरपछि ‘बाटो छोड्नुपर्ने’ बताएका थिए। यिनै अभिव्यक्तिले मोदी र भागवत दुवैको सम्भावित अवकाशबारे बहस सुरु गराएको हो। भागवत आगामी सेप्टेम्बर ११ मा र मोदी सेप्टेम्बर १७ मा ७५ वर्ष पूरा गर्दै छन्।
७५ वर्षपछि पदबाट अवकाशको ‘अलिखित नीति’
आरएसएस र भाजपा दुवैमा ७५ वर्षपछि पदबाट अवकाश लिने अलिखित परम्परा छ, यद्यपि यो कुनै लिखित नियम होइन। मोहन भागवतले २००९ मा आरएसएस प्रमुख बनेयता यो परम्परा पालन गर्दै आएका छन्। वरिष्ठ पत्रकार निलाञ्जन मुखोपाध्यायका अनुसार भागवत स्वयं ७५ वर्षमा सरसंघचालकको पदबाट अवकाश लिने तयारीमा छन्, जुन परम्परा उनले नै संस्थागत गरेका हुन्।
यही ‘अलिखित परम्परा’को सन्दर्भमा भागवतले मोरोपंत पिंगलेको भनाइ उद्धृत गरे — “७५ वर्षको उमेरमा दोसल्ला ओढ्नुको अर्थ अब बाटो छोड्नु हो। अब अरूलाई ठाउँ दिनुपर्छ।” यही भनाइ अहिले मोदीको सन्दर्भमा जोडिँदैछ।
सन् २०१९ र २०२४ का चुनावमा दोहोरो मापदण्ड?
भाजपाले सन् २०१९ को आम निर्वाचनमा ७५ वर्षभन्दा माथिका नेताहरूलाई टिकट नदिने निर्णय सार्वजनिक गरेको थियो। तत्कालीन अध्यक्ष अमित शाहले The Week म्यागजिनसँग भनेका थिए, “७५ वर्ष माथिका कसैलाई टिकट दिइएको छैन, यो पार्टीको निर्णय हो।”
तर सन् २०२४ को आम निर्वाचनमा यही नीतिमा परिवर्तन गरियो। मोदीलाई पुनः प्रधानमन्त्री पदको उम्मेदवार बनाइयो। विपक्षीहरूले यसबारे प्रश्न उठाउँदा भाजपा नेताहरूले ‘कुनै लिखित नियम छैन’ भन्दै बचाव गरे। शाहले नै पछि भने, “मोदीजी २०२९ सम्म देशको नेतृत्व गर्नुहुनेछ। त्यसपछि पनि गर्नसक्नुहुन्छ।”
उत्तराधिकारी चयनको आन्तरिक तयारी?
यसअघि मार्च महिनामा शिवसेना (उद्धव ठाकरे समूह) का नेता संजय राउतले प्रधानमन्त्री मोदी आरएसएस कार्यालय पुगेर आफ्नो अवकाशको विषयमा छलफल गरेको दाबी गरेका थिए। उनले आरएसएसको बन्द ढोकाभित्र उत्तराधिकारीबारे छलफल भएको र ‘अर्को प्रधानमन्त्री महाराष्ट्रबाट बन्ने’ सम्भावना रहेको बताएका थिए। यद्यपि भाजपाका नेता देवेन्द्र फडणविसले त्यस दाबीको खण्डन गरेका थिए।
आरएसएस–भाजपा सम्बन्धमा तनाव
भाजपा र आरएसएसबीचको दूरी पछिल्ला वर्षहरूमा बढेको देखिन्छ। २०१४ को चुनावपछि मोदी नेतृत्वले पार्टीको प्रचारमा आरएसएसभन्दा व्यक्तिगत ‘फेस ब्रान्डिङ’मा बढी जोड दिएको आरएसएसको बुझाइ छ। यही कारण आरएसएसभित्र असन्तोष बढेको र पछिल्लो आम निर्वाचनमा भाजपाले एकल बहुमत गुमाउनुमा यो रणनीतिक त्रुटिको भूमिका रहेको ठानिएको छ।
वरिष्ठ लेखक मुखोपाध्यायका अनुसार, भागवत संगठनात्मक निष्ठामा विश्वास गर्छन् भने भाजपा नेतृत्व व्यक्तिकेन्द्रित छविमा विश्वास राख्छ। यही द्वन्द्वका बीच भागवतको ‘७५ वर्षे’ संकेत मोदीको सम्भावित अवकाशसँग जोडिएको हो।
भागवत पद छाड्ने सम्भावना कम?
हालै आरएसएसले आफ्नो स्थापनाको १०० औं वर्ष प्रवेश गरेको छ। आउँदो दशैंदेखि आरम्भ भएर अर्को वर्षसम्म शतवार्षिकी कार्यक्रम आयोजना हुँदैछ। यस्ता विशेष अवसरमा भागवतकै नेतृत्व आवश्यक ठहरिएकाले उनी पदमा नै रहने सम्भावना बढी रहेको विश्लेषकहरूको बुझाइ छ।
तर, भागवतले आफू ७५ वर्ष पुग्दै गर्दा ‘अवकाशको सन्देश’ दिनुले उनलाई गम्भीरतापूर्वक लिने आधार समेत दिएको छ। कतिपय विश्लेषकहरूका अनुसार, भागवतले आफू पद त्याग गरेर ‘फेस ब्रान्डिङ’को प्रभाव घटाउन र संगठनलाई प्राथमिकता दिन चाहेको हुन सक्छ।
प्रतिक्रिया दिनुहोस्