काठमाडौं– नेकपा (एमाले)ले आफ्नो पूर्व उपाध्यक्ष तथा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीमाथि घेराबन्दी गर्दै उनको पक्षधरमाथि कारबाही गर्न थालेको आरोप लागेको छ ।
यो आरोपलाई पुष्टि गर्ने गरी एमालेले दुई युवा नेतामाथि कारबाहीको डन्डा चलाएको छ ।
कारबाहीमा परेका युवा नेताहरूले नै पूर्वराष्ट्रपति भण्डारीलाई साथ दिएको आरोपमा आफूहरूमाथि कारबाही गरेको गुनासो गरेका छन् ।
एमालेनिकट राष्ट्रिय युवा संघ नेपालले केन्द्रीय सदस्य युवन्तिका राई र लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष सुरज खरेललाई निलम्बन गरेको हो ।
उनीहरूलाई भण्डारीको पक्षमा लागेकै कारण नभई अनुशासनको कारबाही गरेको युवा संघको दाबी छ ।
‘…राष्ट्रिय युवा संघ नेपालको विधान २०४७ (दसौँ राष्ट्रिय महाधिवेशन २०८२ जेठ ९–११, पोखरा, कास्कीद्वारा संशोधित)को धारा ४१ तथा धारा ४२ (क) र (ख) बमोजिम संगठनका सम्पूर्ण जिम्मेवारीहरूबाट पदमुक्त गर्दै एक वर्षका लागि संगठनबाट निलम्बन गर्ने निर्णय गरिएको छ,’ संघका महासचिव महेश चौलागाईंको हस्ताक्षर रहेको पत्रमा उल्लेख छ ।
तर, युवासंघको दाबीलाई कारबाहीमा परेका खरेल र राई खण्डन गर्छन् ।
‘मैले विधान बमोजिम दुई कार्यकाल र ७० वर्षे उमेर हदको व्यवस्था हटाउन हुँदैन, त्यो ठिक होइन भन्ने विचार राखेको थिएँ । अहिले विधान संशोधन प्रस्तावका विषयमा नेता, कार्यकर्ताका धारणा त आइहाल्छन् नि । विचारमा विविधता त हुने नै भयो । तर, पार्टी नेतृत्वको पक्षधर भनिएकाहरूले हुर्मत लिने प्रयास गरे,’ खरेल भन्छन् ।
कारबाहीमा परेपछि आफू सगरमाथा आरोहण गरिसकेको व्यक्ति रहेकाले षड्यन्त्रका तगारो एक जम्पमा पार्न गर्न सक्ने भन्दै राईले विरोधीलाई आफू कहाँ उभिएको छु भन्ने हेक्का राख्न चेतावनी दिएकी छन् ।
‘म संसारको सर्वोच्च शिखर चढेर आएकी हुँ। मेरो लागि सानातिना चुनौती, षड्यन्त्र र तगाराका थुम्काहरू त केवल एक जम्पको दूरीमा छन्। मेरो उचाइ मापन गर्न खोज्नेहरूले पहिले आफू कहाँ उभिएका छन् भन्ने बुझुन्,’ उनले भनिन् ।
उनीहरूमाथिको कारबाहीलाई पूर्वराष्ट्रपति भण्डारीको पक्षमा आवाज उठाउनेको बोली बन्द गर्ने एमालेको नियत रहेको आरोप लगाएका छन् ।
भण्डारीलाई एमालेको राजनीतिमा आउन नदिने र उनको पक्षधरलाई अनुशासनको कारबाही गर्न थालेको एमालेले भण्डारीलाई पनि कार्यकर्तामाझ जान नदिने रणनीति लिन थालेको आरोप छ ।
भण्डारीको सदस्यता खारेज गर्ने निर्णयपछि एमालेभित्र ध्रुवीकरण भएको हो ।
केन्द्रीय कमिटीका बहुमत सदस्य उनलाई राजनीतिमा आउन दिन नहुने पक्षमा देखिए भने केही उनको राजनीति गर्न पाउन नैसर्गिक अधिकार हनन हुन दिन नहुने पक्षमा देखिए ।
भण्डारीको दलीय राजनीतिमा ‘ब्रेक’ लगाउने निर्णय गरेको एमालेभित्र अध्यक्ष केपी शर्मा ओलीबाटै उनले साथ पाइनन् । उनलाई राजनीतिमा आउनबाट रोक्न भन्दै प्रधानमन्त्री निवास बालुवाटारमा संस्थापन पक्षको छलफल हुने गरेको स्रोत बताउँछ ।
गत बुधवार राति बालुवाटारमा महासचिव शंकर पोखरेलसहित उपलब्ध पदाधिकारी, प्रदेश इन्चार्ज, प्रदेश अध्यक्षसहितको बसेको बैठकमा भण्डारीको सक्रियतालाई रोक्न, उनको कार्यक्रममा सहभागी नहुन कार्यकर्तालाई निर्देशन दिने विषयमा छलफल भएको थियो ।
सोही बैठकपछि उनीहरूले भण्डारीले आयोजना गर्ने कुनै पनि कार्यक्रममा कार्यकर्तालाई नपठाउन/सहभागी नहुन र कडा प्रतिवाद गर्न निर्देशन दिएका छन् ।
संस्थापन पक्षको ‘घेराबन्दी’ तोड्न पूर्व उपाध्यक्ष भण्डारी पनि आन्तरिक छलफलमा छिन् ।
बुढानीलकण्ठको भंगालस्थित आफ्नै निवासमा आफू पक्षधरसँग अनौपचारिक छलफल गर्ने गरेकी छन् ।
गत असार १४ गते मदन भण्डारी फाउन्डेसनले आयोजना गरेको कार्यक्रममा भण्डारीले एमालेको पार्टी सदस्यता नवीकरण गरेको र अब सक्रिय राजनीतिक फर्किएको बताएकी थिइन् ।
यतिमा मात्र नरोकिएर उनले अब एमालेको नेतृत्वमा नै सम्हाल्ने भन्दै अध्यक्षको दाबेदारी प्रस्तुत गरिन् ।
यसपछि एमालेसहित समग्र राजनीतिमा तरंग ल्यायो । एमालेको बहुमत नेतृत्व भण्डारीलाई सक्रिय राजनीतिमा आउन रोक्ने रणनीतिमा लाग्यो ।
र अन्ततः साउन ६ गते केन्द्रीय कमिटीमार्फत भण्डारीको पार्टी सदस्यता खारेज गर्दै सक्रिय राजनीतिमा नआएर सम्मानित भएर बस्नुपर्ने निर्णय गरेको थियो ।
आफ्नो पार्टी सदस्यता कसैले खारेज गर्न नसक्ने भन्दै भण्डारीले पनि पार्टीको निर्णयलाई चुनौती दिएकी छन् ।
गत शुक्रवार (साउन ९) मा पत्रकार सम्मेलन गरेका उनले अहिले पनि आफू एमालेमै रहेको र कसैले चाहँदैमा र हुल हुज्जत गरेर आफ्नो पार्टी सदस्यता खारेज गर्न नसक्ने बताएकी थिइन् ।























