काठमाडौं-प्रमुख राजनीतिक दलको दाबीलाई मान्ने हो भने उनीहरुप्रतिको जनताको आकर्षण घटेको छैन । नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रले आफ्नो साधारण सदस्य संख्या वृद्धि भएको दाबी गर्दै जनताको आकर्षणमा कमी नआएको बताएका छन् ।
अधिकांश सामाजिक सञ्जाल प्रयोगकर्ताले अब नयाँ राजनीतिक दल र तिनका नेताले मात्र देशको सर्वाङ्गीणको हितमा काम गर्न सक्ने भन्दै पुराना भनिएका दल आवश्यक नपरेको उल्लेख गर्ने गर्छन् । सामाजिक सञ्जालमा फैलिएका यी विचारले आममानिसलाई पनि प्रभाव पारेको देखिन्छ ।
हालै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले गरेको हस्ताक्षर अभियानलाई हवाला दिँदै अब कांग्रेस, एमाले, माओवादीजस्ता पुराना दलको ‘दिन’ सकिएको भन्दै सामाजिक सञ्जालमा प्रचार भए । तर, यही पेरिफेरिमा सार्वजनिक भएका कांग्रेस र एमालेको सदस्य संख्याले उनीहरुप्रतिको आकर्षणमा कमी आएको देखिँदैन ।
नेकपा एमालेको गत एक वर्षमा सक्रिय सदस्य संख्या २८ प्रतिशतले वृद्धि भएको महासचिव शंकर पोखरेलले बताए । गत सोमबार (असार ५) मा बसेको केन्द्रीय कमिटी बैठकमा नवीकरणबाहेक थप २८ प्रतिशतले सदस्य संख्या वृद्धि भएको जानकारी गराएका थिए । एक वर्षमा एमालेको १ लाख ३९ हजार नयाँ सदस्य थपिएको पोलिट्ब्युरो सदस्य महेश बस्नेतले जानकारी दिए ।
५ लाख ५० हजार सदस्य संख्या रहेकामा यो वर्ष १ लाख ३९ हजार नयाँ सदस्य थपिएर ६ लाख ८९ हजार पुगिसकेको उनले जानकारी दिए । ‘५ लाख ५० हजार सदस्य संख्या रहेको एमालेको यो वर्ष १ लाख ३९ हजार नयाँ सदस्य थपिएको छ ।
अब एमालेको कुल सदस्य संख्या ६ लाख ८९ हजार पुगिसकेको छ,’ बस्नेतले भने । यस्तै, कांग्रेसले आफ्नो क्रियाशील सदस्य संख्या बढेको दाबी गरेको छ । कांग्रेसको क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको दाबी गरेको छ । गत असार मध्यमा बसेको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापा नेतृत्वको क्रियाशील सदस्यता व्यवस्थापन समितिले कांग्रेसमा क्रियाशील सदस्य ८ लाख ७० हजार ७८० पुगेको जाकनारी गराएको थियो । १४औँ महाधिवेशनमा ४ लाख २३ हजार ४३४ सक्रिय सदस्यले नवीकरण गरेको र नयाँ ४ लाख ४७ हजार ३४६, नेपाली जनसम्पर्क समितिबाट १९ हजार ५९२ गरी ८ लाख ७० हजार ७८० पुगेको महामन्त्री थापाले जानकारी दिए ।
यसपछि पनि नयाँ सदस्यता वितरण कार्य भइरहेकाले थप बढ्न सक्ने कांग्रेसको भनाइ छ । कांग्रेस, एमालेको मात्र नभएर नेकपा माओवादी केन्द्रको पनि यस वर्ष ७ प्रतिशत सक्रिय सदस्यको संख्या बढ्ने अनुमान गरेको छ । विवरण संकलन कार्य भइरहेको र अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले सदस्य संख्या बढ्ने माओवादी केन्द्रको केन्द्रीय कार्यालय सचिव निर्मल कुमारले बताए । ‘हाम्रो सक्रिय सदस्य संख्या घटेको छैन र घट्ने पनि छैन ।
अघिल्लो वर्षको तुलनामा यस वर्ष करिब ७ प्रतिशतले बढ्ने अनुमान गरेका छौँ,’विश्वखवरलाई उनले भने, ‘विवरण संकलनको काम भइरहेको छ ।’ सचिव कुमारका अनुसार माओवादी केन्द्रको अघिल्लो वर्ष ७ लाख ७६ हजार सक्रिय सदस्य संख्या थियो ।
अब यो संख्यामा ७ प्रतिशतले वृद्धि हुने अपेक्षा गरेको उनको भनाइ छ । यदी माओवादीले अपेक्षा गरेअनुसार ७ प्रतिशतले वृद्धि भएमा माओवादी केन्द्रको सक्रिय सदस्य संख्या ८ लाख ३० हजार बढी हुनेछ । कांग्रेस, एमाले र माओवादी केन्द्रको दाबीअनुसार उनीहरुको जनमत बढेको छ ।























