images
images
  • कम्बोडिया सीमा क्षेत्रमा थाइल्याण्डको हवाई आक्रमण, १ को मृत्यु, ३ घाइते

    काठमाडौं । थाइल्याण्ड–कम्बोडिया सीमा क्षेत्रमा चर्किएको तनावबीच थाई सेनाले कम्बोडियाका दुई सैन्य अड्डामाथि हवाई आक्रमण गरेको छ ।

    कम्बोडियाली सैनिकले थाई भूमिमा गोली चलाउँदा एक नागरिकको मृत्यु र तीन जना घाइते भएपछि आक्रमण गरिएको थाई सेनाले जनाएको हो ।

    थाई सेनाका उपप्रवक्ता रिचा सुक्सुवाननले सैनिक अड्डालाई लक्षित गरेर योजना अनुसार हवाई शक्ति प्रयोग गरिएको पुष्टि गरेका छन् ।

    बैंकक पोष्टका अनुसार सुरिन प्रान्तको एक सैन्य बेसमा कम्बोडियाली सेनाको गोली प्रहारपछि कम्तीमा ६ स्थानमा तनाव फैलिएको छ ।

    कम्बोडियाका प्रधानमन्त्री हुन मानेटले पनि थाइल्याण्डले हवाई आक्रमण गरेको पुष्टि गरेका छन् ।

    ‘कम्बोडिया सधैं शान्तिपूर्ण समाधानको पक्षमा रहँदै आएको हो,’ एपीले प्रधानमन्त्रीलाई उद्धृत गर्दै लेखेको छ, ‘तर सशस्त्र आक्रमणको जवाफमा बल प्रयोग बाहेक विकल्प छैन ।’

    यसअघि बुधबार, थाइल्याण्डको उबोन राचाथानी प्रान्तको सीमाक्षेत्रमा बारुदी सुरुङ विस्फोट हुँदा पाँच जना थाई सैनिक घाइते भएका थिए ।

    थाई अधिकारीहरूले ती सुरुङ कम्बोडियाले हालै राखेको दाबी गरेका छन् ।

    स्थिति चर्किंदै गएपछि थाइल्याण्डले सीमा बन्द गर्ने निर्णय गरेको छ ।

    सीमा विवादको पुरानो इतिहास रहेका दुई देशबीच २०११ पछिका वर्षहरू शान्त रहँदै आएका थिए ।

    तर, २०२४ को मे महिनामा भएको झडपपछि कम्बोडियाले विवादित भूमि निरूपणका लागि हेगस्थित अन्तर्राष्ट्रिय न्यायालयमा जाने प्रस्ताव राखेको थियो, जसलाई थाइल्याण्डले अस्वीकार गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images