images
images
  • पाकिस्तानी हबिबले हिमालयन बैंकको सेयर बेच्दै, रिले किन्ने

    काठमाडौं । नेपाल राष्ट्र बैंकको स्वीकृति पाएसँगै पाकिस्तानको हबिब बैंकले हिमालयन बैंकमा रहेको संस्थापक सेयर बेचेर बाहिरिने प्रक्रिया पूरा भएको छ ।

    हबिबसँग रहेको पूरा २ करोड ८० लाख १२ हजार ४४७ कित्ता संस्थापक सेयर बेच्नका लागि शुक्रबार सार्वजनिक सूचना प्रकाशन भएको छ ।

    स्रोतका अनुसार हिमालयन रिइन्स्योरेन्सले उक्त सेयर खरिद गर्नेगरी सहमति भइसकेको छ । औपचारिक प्रक्रिया पूरा गर्नका लागि शुक्रबार सार्वजनिक सूचना जारी गरिएको हो ।

    हालसम्म राष्ट्र बैंकले स्वीकृति नदिँदा रोकिएको थियो । पाकिस्तानको हबिब बैंकले कोभिड-१९ महामारी अगाडि नै २०७६ मा हिमालयन बैंकको सेयर बेचेर बाहिरिन खोजेको थियो ।

    संस्थापक सेयर किन्न विद्यमान संस्थापक सेयरधनीलाई नै पहिलो प्राथमिकता दिनुपर्ने नीतिगत व्यवस्थाका कारण बाहिरी पक्षलाई बिक्री गर्न पाएको थिएन ।

    ३५ दिनभित्र सो सेयर खरिदका लागि इच्छुक संस्थापकले आवेदन दिन सक्ने बैंकले सार्वजनिक सूचनामार्फत जनाएको छ । न्यूनतम मूल्य प्रतिकित्ता ११२ रुपैयाँ ८० पैसा कायम हुनेगरी आवेदन दिनुपर्ने छ ।

    हबिबले एकमुष्ट सम्पूर्ण संस्थापक सेयर बिक्रीको लागि निवेदन दिएको हिमालयन बैंकले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images