images
images
  • रास्वपाले सुदूरपश्चिम प्रदेश अध्यक्ष प्रकाश विष्टलाई स्पष्टीकरण माग्यो

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सुदूरपश्चिम प्रदेश अध्यक्ष तथा केन्द्रीय समिति सदस्य प्रकाश विष्टसँग स्पष्टीकरण मागेको छ। पार्टीको अनुशासन आयोगमार्फत विष्टसँग औपचारिक रूपमा स्पष्टीकरण सोधिएको हो।

    अनुशासन समितिका कार्यवाहक प्रमुख रमाकान्त रिजालले विष्टसँग स्पष्टीकरण मागिएको पुष्टि गरे पनि विस्तृत कारण खुलाउन अस्वीकार गरे। उनले भने, “अहिले अनुसन्धानको चरणमा रहेको विषय हो, मिडियामा खुलाउन मिल्दैन। ७ देखि १० दिनभित्र सबै थाहा होला।”

    यस विषयमा प्रतिक्रिया दिँदै विष्टले पार्टीभित्र केही विषयहरूमा स्पष्टता आवश्यक भएकाले स्पष्टीकरण सोधिएको बताए। उनले भने, “पार्टी पद्धतिअनुसार यस्ता प्रक्रिया सामान्य हुन्। ठूलो कुरा होइन। मैले स्पष्टीकरण बुझाइसकेको छु।”

    तर, स्पष्टीकरणको समयसीमा र विषयवस्तुबारे भने न रिजालले न त विष्टले नै खुलासा गरे।

    यता, विष्ट असार २ गते भारतको मुम्बईमा हुने रास्वपाको कार्यक्रममा उपाध्यक्ष डा. स्वर्णिम वाग्लेसँगै सहभागी हुने कार्यक्रम तय भएको थियो। रास्वपा निकट प्रवासी नेपाली सम्पर्क मञ्च, महाराष्ट्र राज्य समितिको प्रथम राज्य भेलामा डा. वाग्ले प्रमुख अतिथि हुनेछन्।

    तर, प्रचारमा विष्ट मुम्बई आउने भनिए पनि उनी उक्त कार्यक्रममा सहभागी नहुने भएका छन्। विष्टले भने, “केही आन्तरिक काम परेका छन्, त्यसैले मुम्बई जान सकिँदैन होला।”

    इञ्जिनियर पेशामा संलग्न विष्ट हाल सुदूरपश्चिम प्रदेश अध्यक्षको जिम्मेवारीमा छन्।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images