काठमाडौं – कराते खेलाडी एरिका गुरुङ विश्व करातेको सबैभन्दा कठिनमध्येको एक कराते–१ प्रिमियर लिगमा ऐतिहासिक कास्य पदक जितेर मंगलबार नेपाल फर्किएकी छिन् ।
उनी फर्किँदा विमानस्थलमा खेल पदाधिकारी, समर्थक र शुभेच्छुकहरूले स्वागत गरेका थिए ।
एरिकाले आइतबार सम्पन्न महिला ६८ केजीमाथि तौल समूह अन्तर्गत कास्य पदकको खेलमा फ्रान्सेली पिए क्लेमेन्सलाई हराउँदै कराते प्रिमियर लिगको पहिलो सहभागितामै नेपाललाई ऐतिहासिक पदक दिलाएकी हुन् ।
उनी करते प्रिमियर लिगमा पहिलो पदक जित्ने नेपाली खेलाडी समेत बनिन्। यसअघि प्रतियोगितामा छनोट भएसँगै एरिका यस्तो प्रतियोगितामा भाग लिने समेत पहिलो खेलाडी बनेकी थिइन्। यसअघि सेमिफाइनलमा पराजित भएकी एरिकाले कास्य पदकका लागि भिड्ने मौका पाएकी थिइन्। सेमिफाइनलमा एरिकालाई हराएकी मारिया टोरेसले यो तौल समूहमा स्वर्ण जितेकी छिन्।
एरिका एसियाली खेलकुदमा नेपालका लागि रजत विजेता खेलाडी हुन्। उनले चीनको हान्झाउमा भएको एसियाली खेलकुदमा रजत पदक जितेकी थिइन्।


विश्व खबर 


















