images
images
  • प्रज्ञा स्मृति प्रतिष्ठानद्वारा पहिलो राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता जेठ २४ मा काठमाडौंमा हुँदै

    काठमाडौं– स्व. प्रकाश दाहाल र स्व. ज्ञानु दाहालको सम्झनामा स्थापित सामाजिक संस्था प्रज्ञा स्मृति प्रतिष्ठानको आयोजनामा प्रथम महिला तथा पुरुष राष्ट्रिय खुला शारीरिक सुगठन प्रतियोगिता यही जेठ २४ गते हुने भएको छ।

    प्रतियोगिता काठमाडौंको नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा सम्पन्न हुनेछ। कार्यक्रममा राष्ट्रिय खेलकुद परिषद्, प्रदेश खेलकुद विकास परिषद् बागमती (हेटौंडा), नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघ र काठमाडौं शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोग रहनेछ।

    देशभरबाट करिब १०० जना महिला तथा पुरुष खेलाडीहरूको सहभागिता रहने अनुमान गरिएको छ। प्रतियोगितामा पुरुषतर्फ ६० केजी, ६५ केजी, ७० केजी, ७५ केजी र ७५ केजीमाथि गरी पाँच तौल समूहमा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला तौल वर्गमा खेलाडीहरूले भाग लिनेछन्।

    पुरुषतर्फ प्रत्येक समूहका विजेताले ५० हजार, दोस्रोले ४० हजार, तेस्रोले ३० हजार, चौथोले २० हजार र पाँचौं स्थान हासिल गर्नेले १० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। महिलातर्फको खुला प्रतिस्पर्धामा प्रथम स्थान हासिल गर्नेलाई १ लाख, दोस्रोलाई ५० हजार, तेस्रोलाई ३० हजार, चौथो र पाँचौं स्थानका विजेताहरूलाई क्रमशः २० हजार र १० हजार नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

    प्रतियोगितामा हरेक तौल समूहका विजेताबीच ‘प्रथम मिस्टर प्रज्ञा स्मृति’ उपाधिका लागि विशेष प्रतिस्पर्धा गराइनेछ। सो उपाधि जित्ने खेलाडीलाई २ लाख ५० हजार रुपैयाँ नगद, ट्रफी र ब्यानरसहित सम्मान गरिने प्रतिष्ठानले जनाएको छ।

    प्रतियोगिताको कुल पुरस्कार राशि १२ लाख १० हजार रुपैयाँ छ भने कार्यक्रम सञ्चालनको अनुमानित लागत ३५ लाख ३५ हजार रुपैयाँ रहेको आयोजकले जानकारी दिएको छ।

    यसअघि प्रतिष्ठानले भरतपुरमा तीन संस्करणसम्म साइक्लिङ प्रतियोगिता आयोजना गरिसकेको छ। यसपटकको प्रतियोगिता शारीरिक सुगठनजस्तो अनुशासनात्मक र कलात्मक खेलको प्रवर्द्धन गर्दै स्वास्थ्य, आत्मविश्वास र समग्र खेलकुद विकासमा टेवा पुर्‍याउने उद्देश्यले आयोजना गरिएको प्रतिष्ठानले जनाएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images