काठमाडौं : म्यान्चेस्टर सिटी,चेल्सी र न्युक्यासल प्रिमियर लिगको अन्तिम दिन च्याम्पियन्स लिगमा स्थान बनाउन सफल भएका छन्।
प्रिमियर लिगबाट च्याम्पियन लिभरपुल र उपविजेता आर्सनल पहिले नै अर्को सत्रमा हुने च्याम्पियन्स लिगमा छनोट भइसकेका थिए। युरोपा लिग विजेता टोटनहामले पनि च्याम्पियन्स लिग खेल्ने छ।
च्याम्पियन्स लिगको होडमा रहेका एस्टन भिल्ला र नटिङ्घम फरेस्ट भने शीर्ष पाँचबाट बाहिरिएर च्याम्पियन्स लिगमा पुग्न सकेनन्। च्याम्पियन लिभरपुलले अन्तिम दिन जितका साथ ट्रफी उचाल्न पाएन। व्रिmस्टल प्यालेसले लिभर पुललाई उसकै घरेलु मैदानमा १–१ को बराबरीमा रोक्यो।
खेलको नवौँ मिनेटमा व्रिmस्टल प्यालेसका इस्माइला सारले गरेको गोलबाट लिभरपुलको ट्रफी ‘सेलिब्रेसन’ लाई तितो बनाउने स्थिति बनेको थियो तर निर्धारित समय सकिन छ मिनेट बाँकी छँदा मोहम्मद सलाहले बराबरी गोल गरे।
एस्टन भिल्लालाई च्याम्पियन्स लिगमा स्थान बनाउन बराबरी पनि पर्याप्त भएको थियो तर म्यान्चेस्टर युनाइटेडले एस्टन भिल्लालाई २–० ले निराश पा¥यो। पूर्वार्धमै भिल्लाका गोलरक्षक इमिलियोनो मार्टिनेजले रातो कार्ड पाएपछि पनि म्यान्चेस्टर युनाइटेडलाई खेल सहज भयो। म्यान्चेस्टर सिटी फुल्हामलाई २–० ले हराएर तेस्रो स्थान बनाउन सफल भयो। सिटीका लागि इलके गुन्डोगन र इर्लिङ हालान्डले गोल गरे।
आठ वर्षमा पहिलो पटक ट्रफीविहीन बनेको सिटीका लागि यसपालि च्याम्पियन्स लिगमा चयन हुनु नै ठुलो उपलब्धि भएको छ। यद्यपि सिटीसमक्ष आगामी जुनमा अमेरिकामा हुने क्लब विश्वकपको उपाधि जित्ने अवसर बाँकी छ।
चेल्सीले नटिङ्घम फरेस्टलाई १–० ले हरायो। सो नतिजाले चेल्सीले चौथो स्थान बनायो भने यस सत्रको सुरुवात शानदार ढङ्गले गरेको नटिङ्घमको च्याम्पियन्स लिग खेल्ने सपना चकनाचुर भयो। नटिङ्घम सातौँ स्थानमा झ¥यो। नटिङ्घमविरुद्ध चेल्सीका लेभी कोलविलले गोल गरे। चेल्सी दुई वर्षको अनुपस्थितिपछि च्याम्पियन्स लिग खेल्दै छ।
न्युक्यासल भने आफ्नो अन्तिम खेलमा एभर्टनसँग १–० ले पराजित भएर पनि पाँचौँ स्थानमा रहेर च्याम्पियन्स लिगमा चयन भयो। एभर्टनका लागि कार्लोस अल्काराजले गोल गरे। म्यान्चेस्टर युनाइटेडसँग एस्टन भिल्ला पराजित भएपछि न्युक्यासलको भाग्योदय भयो।
अन्य खेलमा ब्राइटनले टोटनहामलाई ४–१, आर्सनलले साउथह्याम्पथटनलाई २–१, बोर्नेमाउथले लेस्टर सिटीलाई २–०, वेस्टह्यामले इस्पिचलाई ३–१ ले पराजित गरे। वोल्भ्सले ब्रेन्टफोर्डसँग समान १–१ को बराबरीमा खेल्यो।


विश्व खबर 


















