images
images
  • प्रधानमन्त्री कप एनभीए भलिबल बिहीबारदेखि पोखरामा हुँदै

    पोखरा – नवौँ प्रधानमन्त्री कप राष्ट्रिय महिला तथा पुरुष भलिबल लिग बिहीबारदेखि सुरु हुने भएको छ । नेपाल भलिबल संघको आयोजनामा जेठ ८ देखि १५ सम्म पोखरामा लिग हुनेछ ।

    मंगलबार पत्रकार सम्मेलनमार्फत आयोजकले उक्त खेल पोखरा रंगशालाभित्र रहेको बहुउद्देश्यीय कभर्डहलमा हुने जानकारी गराएको हो ।

    इन्डोर प्रतियोगितामा पुरुषतर्फ आठ तथा महिलातर्फ ६ टिमको सहभागिता रहनेछ । पुरुषतर्फ हेल्प नेपाल स्पोर्टस, एपीएफ क्लब, त्रिभुवन आर्मी क्लब, नेपाल प्रहरी क्लब, कोसी प्रदेश, गण्डकी प्रदेश, सुदूरपश्चिम प्रदेश र मणिमुकुन्द क्लब सहभागी हुनेछन् ।

    महिलातर्फ नेपाल प्रहरी क्लब, एपीएफ क्लब, न्यू डायमण्ड युथ स्पोट्र्स क्लब, त्रिभुवन आर्मी क्लब, एभरेष्ट क्लब बुटवल र कर्णाली प्रदेश टिमको सहभागिता रहनेछ ।

    प्रतियोगितामा प्रत्येक टिमले तीनजना विदेशी खेलाडी समावेश गर्न पाउनेछन् । महिला तथा पुरुष दुवैतर्फका विजेता टिमलाई आठ लाख, उपविजेतालाई चार लाख र तेस्रोलाई ६ लाख रुपैयाँ पुरस्कार दिइनेछ ।

    त्यस्तै, सर्वोत्कृष्ट खेलाडीले ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् भने उत्कृष्ट लिबेरो, सर्भर, ब्लकर, लिफ्टर, स्पाइकर र प्रशिक्षकहरूले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

    प्रतियोगितामा पोखराबाहिरबाट सहभागी हुने टिमहरूलाई खेल अवधिभर प्रतिखेलाडी १२ सय रुपैयाँ दरले रकम उपलब्ध गराइने छ । खेलाडीहरूका लागि दुर्घटना बिमाको समेत व्यवस्था गरिएको संघका अध्यक्ष जितेन्द्रबहादुर चन्दले जानकारी दिए ।

    प्रतियोगिता सम्पन्न गर्न झन्डै ९० लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ, जसमा पुरस्कार रकम मात्रै ३२ लाख रुपैयाँ हुनेछ ।

    यस प्रतियोगिताको विजेता टोली काभा भलिबल च्याम्पियनसिपमा सहभागी हुनेछन् । महिलातर्फको काभा नेपालमै हुँदै छ भने पुरुषको माल्दिभ्समा हुनेछ ।

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images