काठमाडौं । नेपाली कांग्रेस सांसद विनोद चौधरीले आगामी बजेटमा गर्न सकिने कामहरू मात्र समावेश गर्न सुझाव दिएका छन् ।
संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले विगतमा भएका कमजोरीहरूबाट पाठ सिकेर भोलिका दिनमा गर्न सकिने काममात्र समावेश गरिनुपर्नेमा जोड दिएका हुन् ।
उनले हरेक पटक बजेट आयो, पुरानै कार्यक्रमहरु राख्यो तर गर्न चाहीँ केही गर्न सकेन भन्ने खालका कार्यक्रमहरू ल्याउनेक्रम रोकिनुपर्नेमा जोड दिए ।
सांसद चौधरीले जति बोलेको हो त्यति गर्नेगरि बजेट ल्याउनुपर्छ भन्दै हल्का र प्रधानमन्त्री केपी शर्मा ओलीको सस्तो लोकप्रियताका लागि बजेट ल्याउनुभन्दा शतप्रतिशत कार्यान्वयनमा जानेगरि ल्याउनुपर्ने स्पष्ट पारे ।
नीति तथा कार्यक्रममा प्रश्तुत भएका सबैकुरा बजेटमा समावेश गर्नुभन्दा छानेर आफ्नो क्षमता अनुकुलको बजेट बनाउनुपर्नेमा उनको जोड थिए ।
उनले नीति तथा कार्यक्रममा समावेश भएका सबै कार्यक्रम समेट्नुपर्छ भन्दा पनि चुनिएका क्षेत्रमा ध्यान केन्द्रित गरेर बजेट ल्याउन सरकारलाई सुझाव दिए ।
उनले भने, ‘अहिले यो बजेटमा गर्न सक्ने कुराहरुमात्र समावेश गर्ने र खर्च गर्नसक्ने क्षमताअनुसारको बजेट बन्नुपर्छ । अहिलेसम्म विकासमा १९ प्रतिशतमात्र बजेट खर्च भएको छ । हाम्रो घट्दो राजश्व, हाइड्रोपावर बाहेक कुनैपनि क्षेत्रमा नयाँ लगानी भएको छैन । व्यापार संकुचित हुँदैछ । डिमान्ड संकुचित हुँदैछ । उत्पादनमुलक क्षेत्र जसले रोजगारी दिने गर्दछ त्यो पाँच प्रतिशतभन्दा तल झरिसकेको अवस्था छ । जबकी दक्षिण एसियाली मुलुक भारत, श्रीलंका, बंगलादेशमा २० प्रतिशतभन्दा माथि छ । नयाँ नयाँ प्रोजेक्टहरुमा खाली प्रोजेक्ट भन्नका लागि संसदमा बजेट पछि टेबल ठटाउनकै लागि घोषणा गर्नुको सट्टा घोषण भइसकेका प्रोजेक्टहरु पूरा गर्नप¥यो । किनकी नामका लागि बहुवर्षीय भएका आयोजनाहरुलाई जसलाई ५० करोड चाहिन्छ त्यसमा एक करोड दिनुको कुनै औचित्य छैन । अर्कोकुरा सांसदलाई जिम्मेवार पनि बनाउनुप¥यो ।’
उनले साना साना कुरा बजेटमा समेट्नुको कुनै अर्थ नहुने भएकाले हुनसक्ने काममात्र बजेटमा समावेश गर्नुपर्नेमा जोड दिए ।























