images
images
  • प्रधानमन्त्री बालेनका प्रमुख सल्लाहकार कुमार बेनविरुद्ध प्रहरीमा जाहेरी

    काठमाडौं– प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) का प्रमुख सल्लाहकार कुमार ब्यञ्जनकार (कुमार बेन) विरुद्ध प्रहरीमा जाहेरी परेको छ ।

    जेनजी मुभमेन्ट नेपालका प्रवक्ता विजय शाहले बुधबार जिल्ला प्रहरी परिसर भद्रकालीमा इमेलमार्फत जाहेरी दिएका हुन् । मुलुकी अपराध संहिता, २०७४ को दफा ८९ अन्तर्गत झूटा प्रमाण बनाउन नहुने कसुरमा अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ ।

    जाहेरीमा सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा अनुसन्धानका क्रममा रहेका इनम सापकोटाका दुईवटा मोबाइल फोन डिजिटल फरेन्सिक परीक्षण हुनुअघि बेनले आफ्नो ज्वागलस्थित निवासमा दुई दिनसम्म राखेको आरोप लगाइएको छ ।

    जाहेरीअनुसार २०८३ असोज १६ गते राति सवा ९ बजे सापकोटाका मोबाइल फोन बेनको घरमा रहेको प्रहरीको लोकेसन ट्र्याकिङबाट पुष्टि भएको दाबी गरिएको छ ।

    प्रहरीलाई मोबाइल फिर्ता गरेपछि गरिएको डिजिटल फरेन्सिक परीक्षणका क्रममा उक्त अवधिमा ह्वाट्सएप, फेसबुकलगायत सामाजिक सञ्जाल सञ्चालन गरिएको, विभिन्न सामग्रीका स्क्रिनसट लिइएको र सापकोटा तथा बेनबीच भएका केही महत्त्वपूर्ण सन्देशसमेत मेटाइएको जाहेरीमा उल्लेख छ ।

    अनुसन्धानका क्रममा रहेका व्यक्तिका डिजिटल उपकरणमा प्रहरीको आधिकारिक प्रक्रियाबाहिर रहेर पहुँच पुर्‍याइएको र त्यसबाट अनुसन्धानसँग सम्बन्धित प्रमाण नष्ट भएको हुन सक्ने भन्दै साहले निष्पक्ष अनुसन्धानको माग गरेका छन् ।

    जाहेरीमा डिजिटल प्रमाणमा गैरकानुनी पहुँच पुर्‍याएको, प्रमाण नष्ट गरेको तथा पदको दुरुपयोग गरी अनुसन्धान प्रभावित पारेको आरोप लगाइएको छ । जेनजी मुभमेन्ट नेपालले सम्बन्धित प्रमाण तथा सञ्चारमाध्यममा प्रकाशित सामग्रीसमेत जाहेरीसाथ पेस गरेको जनाएको छ ।

    यस विषयमा प्रहरी प्रवक्ता डीआईजी अविनारायण काफ्लेले भने आफूलाई जाहेरीबारे जानकारी नभएको बताएका छन् । त्यस्तै परिसरका प्रवक्ता दान थापाले पनि आफूलाई जाहेरीबारे थाहा नभएको बताए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images