images
images
  • प्रचण्ड-ओली संवाद: ‘सत्ता मात्रै होइन, सम्भावित पार्टी एकता पनि’

    काठमाडौं-प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच पछिल्ला दिनमा भइरहेको संवादले मात्र सत्ता समीकरण होइन, समग्र वाम राजनीति हल्लिएको छ। ‘आरामको समय’ भन्दै चिकित्सकीय ‘बेड रेस्ट’मा रहेका प्रचण्डले यो विश्रामलाई ओलीसँग गहिरो छलफलको ‘अवसरमा’ रूपान्तरण गरेका छन्।

    यी छलफलहरूमा केवल सरकारको नेतृत्व वा गभर्नर नियुक्तिको विवाद मात्र होइन, दीर्घकालीन रूपमा फेरि एकपटक पार्टी एकताको सम्भावनासमेत उठेको स्रोतहरू बताउँछन्।

    गभर्नर नियुक्ति विवाद र कांग्रेस–एमाले दरार
    ओली नेतृत्वको सरकारले राष्ट्र बैंकको गभर्नर नियुक्तिमा कांग्रेसको दबाब झेल्दै आएको छ। कांग्रेसले आफ्नो सिफारिसलाई प्राथमिकता दिनुपर्ने दाबी गरिरहँदा प्रधानमन्त्री ओली भने गभर्नर नियुक्ति आफ्नो हातमै राख्न चाहन्छन्। सोमबारको छलफलमा ओली र देउवा बीच कुनै सहमति हुन सकेन। देउवाले सार्वजनिक रूपमा पनि ‘हामीले नाम सिफारिस नगरेकाले नियुक्ति भएको छैन’ भनेर ओलीमाथिको आरोप कम गर्न खोजे।

    तर, स्रोतहरूका अनुसार देउवाले आशंका गरिरहेका छन् कि ओली एकल निर्णय गरेर कांग्रेसलाई ‘घोचो’ दिन सक्छन्। यदि ओलीले यस्तो गरे भने गठबन्धनमै दरार आउने संकेत देखिन्छ।

    काम नगर्ने मन्त्री फिर्ता बोलाउने ओलीको प्रस्ताव, देउवाको अस्वीकार
    प्रधानमन्त्री ओलीले कांग्रेसका केही मन्त्रीहरू पर्याप्त प्रभावकारी नभएको भन्दै फिर्ता बोलाउने प्रस्ताव अघि सारेका छन्। तर देउवाले तत्काल कुनै हेरफेर नगर्ने अडान राखेका छन्। देउवाको बुझाइमा, नीति तथा कार्यक्रम र बजेटअघिको यस्तो निर्णयले सत्ता अस्थिरता निम्त्याउनेछ।

    भारतसँग सम्बन्ध र परराष्ट्रमन्त्रीप्रति असन्तोष
    ओली भारत भ्रमणमा जान नपाएकोप्रति चिढिएका छन्। कांग्रेस नेतृ तथा परराष्ट्रमन्त्री आरजू राणा देउवाको सक्रियता प्रभावकारी नभएको भन्दै ओली असन्तुष्ट छन्। यता, भारतीय पक्षले देउवालाई मात्र भ्रमणको निम्तो पठाउने संकेत दिएको कुराले ओली थप असहज बनेका छन्।

    शेष घले पक्षधर एनआरएनएको महाधिवेशनमा आरजु राणाको सहभागितासमेत ओलीलाई अपाच्य लागेको छ। उनले आफू निकट बद्री पाण्डे नेतृत्वको एनआरएनए सम्मेलन उद्घाटन गर्ने तयारी गरेका छन्।

    प्रचण्ड–ओली छलफल: सत्ता साझेदारी मात्र होइन, सम्भावित पार्टी एकता पनि
    पछिल्ला संवादहरूमा सत्ता सहकार्यको सम्भाव्यता मात्र नभई वाम पुनःएकताको खाकासमेत खिचिएको स्रोतहरू बताउँछन्। ओलीनिकट नेताहरूका अनुसार प्रचण्डसँग गहिरो सहकार्यका लागि पार्टी तहसम्म पुग्ने सम्भावनाको ढोका खुला गरिएको छ।

    तर, पूर्व नेकपामा देखिएको प्रचण्ड–नेपाल गुटको अनुभव स्मरण गर्दै ओली माधव नेपाललाई समावेश गर्नेबारे अझै सशंकित छन्। त्यसैले ओलीको रणनीति, नेपाललाई गलाएर ल्याउने र सम्भव भएमा उनको सांसद समूह मात्र भित्र्याउनेतर्फ केन्द्रित देखिन्छ।

    पतञ्जली जग्गा प्रकरणलाई ‘दवावको हतियार’ बनाउँदै, ओलीले हाल अख्तियारद्वारा रोकिएको मुद्दा पुनः अघि बढाउने तयारी गरेका छन्। माधव नेपालमाथि ‘मामला चल्न सक्छ’ भन्ने सन्देश दिँदै उनलाई राजनीतिक रूपमा कमजोर बनाउने प्रयास भइरहेको स्रोत बताउँछ।

    सत्ता समीकरणको लचकता, एकताको संकेत
    एमाले र माओवादी अध्यक्षबीचको संवादबाट सत्ता समीकरण मात्र होइन, वाम एकताको सम्भाव्यता पुनः उठेको छ। तर कांग्रेसभित्रको असन्तोष, भारतसँगको सम्बन्ध, र आन्तरिक खिचातानीले यो परिदृश्य झन् जटिल बनाएको छ। ओली र प्रचण्ड दुबैले २०८४ को निर्वाचनलाई लक्ष्य बनाएर रणनीतिक गन्तव्य तय गरिरहेका छन्—तर त्यो बाटो गठबन्धनको पुनर्संरचना वा वाम पुनःएकता कुन मोडमा जाने हो, त्यो आउँदो दिनको राजनीतिक गतिशीलताले तय गर्नेछ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images