images
images
  • संकटमा कांग्रेस-एमाले सत्ता गठबन्धन !

    काठमाडौं-उपचारको क्रममा ‘बेड रेस्ट’ मा रहेका माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ पछिल्ला दिनहरूमा एमालेसँगको संवादमा सक्रिय देखिएका छन्। एमालेसँगको यो संवाद सत्तारूढ गठबन्धनको समीकरण बदलिने संकेतका रूपमा हेरिएको छ। सत्ताको नेतृत्व गरिरहेको एमाले र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबीच राष्ट्र बैंकको गभर्नर नियुक्ति लगायतका विषयमा चर्को असहमति देखिएको छ। कांग्रेसको निरन्तर दबाबका बाबजुद प्रधानमन्त्री केपी शर्मा ओली गभर्नर नियुक्तिमा लचक नदेखिएपछि गठबन्धनभित्रको दरार अझ चर्किएको छ।

    १.कार्यक्षमतामा कमजाेर भएका मन्त्रीहरू फिर्ता बोलाउने ओलीको प्रस्ताव, देउवाले अस्वीकृत
    प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारका केही मन्त्रीहरूको कार्यक्षमता हेरेर फिर्ता बोलाउने प्रस्ताव गरेका थिए । सत्ता समिकरण भएको ६ महिनामै केहि एमाले र केहि कांग्रेसका मन्त्रीहरु परिर्वतन गरेर केहि काम गर्न सक्नेलाई ल्याउन प्रस्तावअघि सारेका थिए, तर यद्दपी पार्टी सभापति शेरबहादुर देउवाले यसलाई अस्वीकृत गरेका थिए ।

    कांग्रेसका केही नेताहरूले सरकारमा रहेका मन्त्रीहरूलाई कार्यप्रवृत्तिमा सुधार ल्याउने आवश्यकताबारे सार्वजनिक रूपमा आवाज उठाएपछि ओलीले कार्यक्षमतामा कमी भएका मन्त्रीलाई फिर्ता बोलाउने सुझाव दिएका थिए।तर, देउवाले यसलाई पार्टी भित्रको आन्तरिक असहमति र अस्थिरतासँग नजोड्न आग्रह गर्दै भनेका छन्, ‘यो अहिलेको समयमा संवेदनशील र रणनीतिक दृष्टिकोणले असमझदारी बढाउने कदम हुन सक्छ।’

    प्रधानमन्त्री ओलीको प्रस्तावमा उनीहरूले मन्त्रीहरूको प्रदर्शनमा सुधार ल्याउने कोसिस गरेका थिए, जसमा कार्यक्षमतामा कमी भएका मन्त्रीलाई फिर्ता बोलाउने कुरा उठाएका थिए। तर, देउवाले पार्टीको आन्तरिक सन्तुलनलाई ध्यानमा राखेर यस समय मन्त्रीहरूको फिर्तीको प्रस्ताव अस्वीकृत गरेका छन्। देउवाले यसबारे थप टिप्पणी नगरेका भए तापनि, स्रोतका अनुसार उनका ख्यालमा यसले गठबन्धनमा असन्तुलन ल्याउन सक्छ।

    २.गभर्नर नियुक्तिमा ओलीको कडा अडान
    प्रधानमन्त्री ओलीले राष्ट्र बैंकको गभर्नर आफैंले नियुक्त गर्नुपर्ने धारणा राखेका छन्। सोमबार सभापति शेरबहादुर देउवासँगको छलफलमा पनि सहमति जुट्न सकेन। देउवाले भने सार्वजनिक रूपमा कांग्रेसको सिफारिस नहुँदा गभर्नर नियुक्त हुन नसकेको बताएका छन्। तर, एमाले नेताहरू यो अभिव्यक्तिलाई कांग्रेसको रणनीतिक वक्तव्य मान्छन्। “ओली आफैं नियुक्त गर्न लाग्नुभएको आशंका कांग्रेसभित्र छ,” एमालेका एक वरिष्ठ नेताले बताए, “यस्तो भयो भने गठबन्धन नै जोखिममा पर्न सक्छ।”

    ३.भारतसँग सम्बन्ध र कांग्रेसप्रति असन्तुष्टि
    प्रधानमन्त्री ओलीको असन्तुष्टि भारतसँगको सम्बन्धमा देखिएको गतिरोधसँग पनि जोडिएको छ। भारतले प्रधानमन्त्री ओलीलाई अहिलेसम्म भ्रमणको निमन्त्रणा दिएको छैन। तर, देउवा प्रधानमन्त्री भएमा चाँडै निमन्त्रणा आउने संकेत भारतीय पक्षबाट आएको स्रोत बताउँछ। प्रधानमन्त्री ओलीले विदेश नीति सञ्चालनमा परराष्ट्रमन्त्री आरजु राणा देउवाको भूमिकालाई कमजोर ठानेका छन्। यसले सत्ता साझेदार दलबीचको दूरी अझ बढाएको छ।

    ४.एनआरएन कार्यक्रम र शक्ति सन्तुलनको प्रतिस्पर्धा
    शेष घले पक्षधर एनआरएनएको महाधिवेशनमा परराष्ट्रमन्त्री आरजु राणाको उपस्थितिलाई प्रधानमन्त्री ओलीले मन पराएका छैनन्। उनले मन्त्रीलाई कार्यक्रममा नजान भनेका थिए, तर उनी गइन्। त्यसपछि ओलीले बद्री पाण्डे नेतृत्वको एनआरएनएको सम्मेलन उद्घाटनमा सहभागी हुने तयारी गरेका छन्।

    ५.कांग्रेसको नीति तथा कार्यक्रमप्रति असन्तुष्टि
    सत्तारूढ गठबन्धनको प्रमुख दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को नीति तथा कार्यक्रमप्रति असन्तुष्टि जनाएको छ। कांग्रेस नेताहरूले नीति तथा कार्यक्रममा सातबुँदे सहमति समेटिन नसकेको, एमालेको प्रभाव बढी देखिएको र कार्यान्वयनमा चुनौती रहेको बताएका छन्।

    ६.सातबुँदे सहमति समेटिन नसकेको गुनासो

    कांग्रेसका सहमहामन्त्री तथा सांसद जीवन परियारले संसदमा बोल्दै नीति तथा कार्यक्रममा सातबुँदे सहमति समेटिन नसकेको गुनासो गरे। उनले आर्थिक गतिविधिलाई चलायमान बनाउने, आन्तरिक र बाह्य लगानीलाई प्रोत्साहन गर्ने, रोजगारी सिर्जना गर्ने, संविधान संशोधनजस्ता विषयहरूमा कांग्रेस र एमालेबीच सहमति भए पनि नीति तथा कार्यक्रममा ती विषयहरू पर्याप्त रूपमा समेटिन नसकेको बताए।

    ७.नीति तथा कार्यक्रम कार्यान्वयनमा चुनौती

    कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले नीति तथा कार्यक्रम कार्यान्वयनमा आर्थिक अभावका कारण चुनौती रहेको बताए। उनले नीति तथा कार्यक्रम समग्रमा राम्रो भए पनि कार्यान्वयन गर्न आर्थिक स्रोतको अभावले समस्या हुने बताए। यद्यपि, कांग्रेस सभापति शेरबहादुर देउवाले नीति तथा कार्यक्रमप्रति समर्थन जनाएका छन्। उनले संसदीय दलको बैठकमा सांसदहरूलाई नीति तथा कार्यक्रमको प्रचार गर्न निर्देशन दिएका छन्।

    एमाले र प्रमुख सत्ता साझेदार नेपाली कांग्रेसबीच बाँडफाँट भएका मन्त्रालयहरुमा कांग्रेसहरु पाएका मन्त्रालयमा एमालेको विना सहमति राजनितिक नियुत्ति गरेको र एमालेका मन्त्रालयमा कांग्रेसले नियुत्तिकाे लागी भाग खोजेकोमा ओलीकाे असन्तुष्ट छन् । कांग्रेसका नेताहरुको निन्तर सरकारलाई असहयोग र आलोचना मात्रै गरेको ओलीको बुझाई छ ।

    ८.नीति तथा कार्यक्रममा एमालेको प्रभाव

    कांग्रेस संसदीय दलको बैठकमा सांसदहरूले नीति तथा कार्यक्रम एमालेको प्रभावमा आएको भन्दै आलोचना गरेका छन्। उनीहरूले ‘समृद्ध नेपाल, सुखी नेपाली’ नारालाई एमालेको नारा भन्दै आपत्ति जनाएका छन्। साथै, राष्ट्रपति सम्बन्धी कार्यक्रमहरूबाट ‘राष्ट्रपति’ शब्द हटाइएकोमा पनि असन्तुष्टि व्यक्त गरिएको छ।

    प्रचण्ड–ओली संवाद: सत्ता मात्रै होइन, सम्भावित पार्टी एकता पनि
    oli prachandaएमाले र माओवादीबीचको हालको संवाद सत्ता साझेदारीमा सीमित छैन। दुबै दलबीच सम्भावित पार्टी एकताको विषयमा पनि छलफल अघि बढेको बताइएको छ। स्रोतका अनुसार एकीकृत समाजवादीलाई पनि यो एकतामा समेट्ने प्रयास भइरहेको छ। तर, माधवकुमार नेपालप्रति ओलीको मनस्थिति अझै सकारात्मक छैन।

    ओली माधव नेपाललाई ‘अल्प’ हैसियतमा मात्र पार्टीमा ल्याउन चाहन्छन्। विगतमा नेपाल–प्रचण्ड गठबन्धनले आफूलाई कमजोर बनाएको भन्दै उनी दुबैमाथि अझै शंका राख्छन्। माधव नेपालमाथि ‘दबाब’ कायम राख्न ओलीले पतञ्जली जग्गा प्रकरणलाई प्रयोग गर्न खोजेको दाबी पनि स्रोतले गरेको छ।

    नयाँ समीकरणको संकेत
    यसबेला प्रचण्डले एमालेसँग छलफललाई तीव्र बनाउँदा कांग्रेसभित्र थप आशंका पैदा भएको छ। सत्ता समीकरण बदल्नसक्ने संकेतले राजनीतिमा तरंग उत्पन्न भएको छ। प्रचण्ड अब कांग्रेसबाट फेरि प्रधानमन्त्री बन्ने सम्भावना न्यून देखेर ओलीसँग सहकार्यमा जान इच्छुक रहेको स्रोतको दाबी छ। ‘प्रचण्डले ओलीलाई धेरैथोक दिन तयार देखिएका छन्,’ स्रोत भन्याे, ‘ओली पनि अहिले त्यो प्रस्तावप्रति सकारात्मक छन्।’

     

     

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images