images
images
  • हुथीको मिसाइल इजरायली विमानस्थलमा खस्दा चार जना घाइते

    इजरायल । इजरायलको प्रमुख बेन गुरियन विमानस्थलको मुख्य टर्मिनल नजिकै आइतबार बिहान यमनबाट प्रहार गरिएको ब्यालिस्टिक मिसाइल खसेको इजरायली अधिकारीहरूले बताएका छन् । तेल अविवको बाहिरी क्षेत्रमा अवस्थित उक्त विमानस्थल नजिकै मिसाइल खस्दा ठूलो धमाका भएको थियो ।

    सामाजिक सञ्जालमा पोस्ट गरिएको अपुष्ट भिडियोमा नजिकैको सडकमा चालकहरूले गाडी रोकेर आश्रय लिइरहेको र मिसाइल खस्दा विमानस्थल नजिकै कालो धुवाँको मुस्लो उठेको देखिएको छ । इजरायली मिडियाले आपतकालीन सेवाहरूलाई उद्धृत गर्दै विस्फोटका कारण चार जना घाइते भएको र दुई जना आश्रयस्थलतर्फ जाँदा घाइते भएको जनाएका छन् ।

    इजरायलका रक्षामन्त्री इजरायल काट्जले एक वक्तव्यमार्फत भने, “हामीलाई आक्रमण गर्ने जो कोहीलाई हामी सात गुणा कडा जवाफ दिनेछौं ।” यमनको हुथी विद्रोही समूहका सैन्य प्रवक्ता याह्या सारीले टेलिभिजनमार्फत दिएको वक्तव्यमा बेन गुरियन विमानस्थल अब ‘हवाई यात्राका लागि सुरक्षित नरहेको’ दाबी गरे ।

    मिसाइल आक्रमणपछि केही समयका लागि उडानहरू स्थगित गरिएको विमानस्थल हाल पुनः सञ्चालनमा आएको छ । मिसाइल आउँदा देशका विभिन्न भागमा साइरन बजाइएको थियो । इजरायली वायुसेनाले मिसाइल रोक्न असफल भएको विषयमा अनुसन्धान गरिरहेको जनाएको छ । स्थानीय मिडियाले साझा गरेको भिडियोमा मिसाइल खसेको ठाउँमा ठूलो खाल्डो बनेको देखिएको छ ।

    इरान समर्थित यमनको हुथी विद्रोही समूहले गाजामा हमासप्रति ऐक्यबद्धता जनाउँदै इजरायलमाथि नियमित रूपमा मिसाइल आक्रमण गर्दै आएको छ, तर इजरायलको हवाई रक्षा प्रणालीलाई छल्दै मिसाइल पुग्नु भने दुर्लभ हो । हुथी समूहले लाल सागरमा जहाजहरूमाथि पनि आक्रमण गर्दै आएको छ, जसको जवाफमा अमेरिकाले हुथीविरुद्ध बमबारी अभियान चलाएको छ ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images