images
images
  • वडाअध्यक्षहरु महिनौदेखि विदेशमा, जनताको भोटको अपमान गरेको गुनासो

    धार्चे गाउँपालिका वडा नं. ६ काशिगाउँ बिगत आठ महिनादेखि वडाअध्यक्षविहिन छ । वडाअध्यक्ष धनकुमार घलेले वडा सदस्य रवीन्द्र घलेलाई कार्यबाहक सुम्पिएर बेलायत गएपछि आफूहरु अभिभावकविहिन भएको वडाबासीको गुनासो छ ।

    ‘रवीन्द्र घलेलाई कार्यबाहक दिएर भदौ १२ गतेदेखि उहाँ बेलायत जानु भएको हो, अहिलेसम्म फर्कनु भएको छैन’, स्थानीय कान्ते गुरुङले भने, ‘जनताको सेवा गर्छु भनेर भोट माग्ने, चुनाब जित्ने अनि पिठ्युँ फर्काएर हिडेपछि हामीलाई समस्या भएको छ ।’ साना, ठूला सबै समस्या समाधान गर्न वडाअध्यक्षको आवश्यकता पर्ने भन्दै उनले भने, ‘कार्यबाहक त काम चलाउ मात्र हो । वडाअध्यक्ष नभएपछि हाम्रो वडा धेरै समस्यामा परेको छ ।’

    लामो समयदेखि वडाअध्यक्ष अनुपस्थित हुनुको कारण र उपस्थित हुने नहुने बारे स्पष्ट खुलाइ पठाउन गाउँपालिका कार्यालयले वडा कार्यालयलाई पत्राचार गरेका थियो । तर जवाफ नआएको गाउँपालिकाका अध्यक्ष लक्ष्मण गुरुङले बताए । ‘वडाअध्यक्ष अनुपस्थित हुँदा धेरै समस्या आएको भनेर जनगुनासो धेरै आएपछि हामीले वडाअध्यक्ष आउने कि नआउने, आउने हो भने कहिले आउने हो भनी सत्यतथ्य लेखिपठाउन वडा कार्यालयमा पत्र पठायौँ’, गुरुङले भने, ‘एकसाताभित्र जवाफ पठाउन भनेका थियौँ, तर दुई महिना भइसक्यो, केही जवाफ आएको छैन ।’ वडाअध्यक्ष लामो समयदेखि अनुस्थित भएको बारे जिल्ला समन्वय समितिमा पनि जानकारी गराइसकेको उनले बताए ।

    सिरानचोक गाउँपालिका वडा नं. ५ पनि बिगत १० महिनादेखि वडाअध्यक्षविहिन छ । वडाअध्यक्ष ठानेश्वर पोखरेल गत असारमा बर्खे अधिवेशन सकेर अमेरिका गएदेखि अहिलेसम्म अनुपस्थित रहेको स्थानीय विष्णु पोखरेलले जानकारी दिए । लामो समयदेखि वडाअध्यक्ष अनुपस्थित भएपछि स्थानीयबासीले वडाअध्यक्षको खोजी गरिदिन माग गर्दै गाउँपालिका अध्यक्ष ज्ञानेन्द्र गुरुङलाई ज्ञापन पत्र पेश गरेका छन् ।

    ‘गत असारमा वडा सदस्य रामचन्द्र पोखरेललाई कार्यबाहक तोकेर अमेरिका जानु भएको थियो’, उनले भने, ‘गत माघमा आएर फेरि उहाँलाई नै असारसम्मका लागि कार्यभार सुम्पिएर जानु भएको रहेछ । अरुलाई कार्यभार दिएर यत्तिका लामो समय हराउँदा वडाबासी अन्यायमा परेका छौँ ।’ जनताको काम गर्छु भनेर भोट माग्ने, चुनाव जित्ने अनि अर्कालाई कार्यबाहक दिएर विदेशमा बस्नु जनताको भोटको अपमान भएको स्थानीयबासीको भनाइ छ ।

    वडाअध्यक्ष पोखरेल बिनाजानकारी लामो समयदेखि सम्पर्कबिहिन भएको गाउँपालिकाका अध्यक्ष ज्ञानेन्द्र गुरुङले जानकारी दिए । ‘ज्येष्ठ वडासदस्य रामचन्द्र पोखरेललाई कार्यबाहक दिनुभएको रहेछ, तर गाउँपालिकालाई कुनै जानकारी छैन’, गुरुङले भने, ‘मैले नै धेरै पटक सम्पर्क गरेर सोधपुछ गर्ने प्रयास गरेँ, तर सम्पर्क हुन सकेको छैन ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images