images
images
  • पोखरा विमानस्थलमा अनियमितता: क्यान महानिर्देशक अधिकारीलाई तत्काल निलम्बन !

    काठमाडौं-पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियामा भ्रष्टाचार र अनियमितता भएको ठहर गर्दै संसदीय लेखा उपसमितिले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीसहितका उच्च पदाधिकारीमाथि छानबिनको सिफारिस गरेको छ।

    प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिको उपसमितिले विमानस्थल निर्माणमा नीति, योजना, लागत, ठेक्का प्रक्रिया र गुणस्तरसम्बन्धी गम्भीर त्रुटि देखिएको उल्लेख गर्दै तत्काल महानिर्देशक अधिकारीलाई निलम्बन गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगमार्फत छानबिन गर्नुपर्ने बताएको हो।

    २०७१ सालदेखि आयोजना प्रमुख रहेका अधिकारी २०७८ माघदेखि क्यानका महानिर्देशक छन्। उनीसहित पूर्वमहानिर्देशक सञ्जीव गौतम, राजन पोखरेल, तत्कालीन आयोजना निर्देशक विनेश मुनाकर्मी, निर्देशक चाँदमाला श्रेष्ठ, प्रविन न्यौपाने, बाबुराम पौडेल र राजेन्द्र पौडेललाई पनि छानबिनको दायरामा ल्याउन सिफारिस गरिएको छ।

    उपसमितिले मन्त्रिपरिषद्को नीतिगत निर्णयको आडमा आयोजना लागत अस्वाभाविक रूपमा बढाइएको र राजनीतिक तथा प्रशासनिक तहबाट मिलेमतोमा भ्रष्टाचार भएको निष्कर्ष निकालेको छ।

    पोखरा विमानस्थलको सुरुआती अनुमानित लागत २२ अर्ब भए पनि अन्त्यमा ४० अर्ब रुपैयाँ नाघेको छ। यद्यपि, अन्तर्राष्ट्रिय उडान नियमित नहुँदा विमानस्थलको उपयोगिता र आर्थिक पारदर्शितामाथि प्रश्न उठ्दै आएको छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images