images
images
  • सिरिया मिसनबाट फर्किएका सैनिकमाथि जंगीअड्डाको छानबिन, कमाण्डरसहित चार अधिकारी नियन्त्रणमा

    काठमाडौं-संयुक्त राष्ट्रसंघअन्तर्गतको शान्ति स्थापनार्थ सिरियामा खटिएको नेपाली सेनाको टोली स्वदेश फर्किएलगत्तै कमाण्डरसहित करिब ३० सैनिक अधिकारी नेपाली सेनाको आन्तरिक छानबिनमा परेका छन्। सिरियाको विवादित गोलान हाइट क्षेत्रमा खटिएको उक्त टोलीमाथि हतियारधारी समूहले आक्रमण गरी हतियार खोसेको घटनापछि नेपाली सेनाको जंगीअड्डाले छानबिन अघि बढाएको हो।

    घटनाको संवेदनशीलतालाई मध्यनजर गर्दै सेनाले प्रारम्भिक रुपमा ‘आन्तरिक छानबिन’ गरिरहेको बताएको छ। यद्यपि, सैनिक प्रहरी गणको नियन्त्रणमा रहेका वरिष्ठ अधिकारीहरूमाथि गम्भीर अनुसन्धान भइरहेको स्रोतहरू बताउँछन्।

    सन् २०२४ डिसेम्बर ७ (मंसिर २२, २०८१) मा संयुक्त राष्ट्रसंघअन्तर्गतको ‘United Nations Disengagement Observer Force (UNDOF)’ मा खटिएको नेपाली टोलीमाथि सिरियाको हदारस्थित १०–ए पोष्टमा एक सशस्त्र समूहले आक्रमण गर्‍यो। मिसन कमाण्डर प्रमुख सेनानी दिनेशकुमार खड्का नेतृत्वको टोलीले चेतावनी दिए पनि उक्त समूहले जबरजस्ती प्रवेश गरी केही अत्याधुनिक हतियार र गोली लुटपाट गरेका थिए। सो समयमा नेपाली फौजले प्रतिकार गर्न नसक्नुको मुख्य कारण ‘इन्गेजमेन्ट’ (प्रतिकारबाही) सम्बन्धी स्पष्ट निर्देशनको अभाव थियो। सोही घटनाका आधारमा संयुक्त राष्ट्रसंघले आफ्नै छानबिन टोली पठाएको थियो र केही समयपछि लुटिएका हतियार र गोलाबारुद फिर्ता गरिएको थियो।

    नेपाली सेनाका प्रवक्ता गौरवकुमार केसीका अनुसार, “हालसम्म यो आन्तरिक छानबिनको प्रक्रिया मात्र हो। झण्डै ३० जनासँग बयान लिइएको छ र सोधपुछपछि धेरैलाई छाडिएको छ।” तर, सैनिक प्रहरी गणमा राखिएका अधिकारीहरूमाथि भने औपचारिक रूपमा ‘कोर्ट अफ इक्वायरी’ गठन गरी अनुसन्धान अघि बढाइएको छ। स्रोतका अनुसार, प्रमुख सेनानी दिनेशकुमार खड्कासहित चार जना अधिकारी अझै नियन्त्रणमा छन्।

    एक सैनिक अधिकृतका अनुसार, “यदि छानबिनबाट कुनै गम्भीर त्रुटि वा लापरवाही देखियो भने ती अधिकारीहरूविरुद्ध कोर्ट मार्सल को प्रक्रिया अघि बढ्न सक्छ। अन्यथा उनीहरूलाई विभागीय कारबाहीमै सीमित गरिनेछ।”

    नेपाल सन् १९५५ मा संयुक्त राष्ट्रसंघको सदस्य बनेयता लगातार शान्ति स्थापनार्थ सैनिक पठाउँदै आएको छ। पछिल्लो तथ्यांकअनुसार, हाल ५ हजार ९१८ नेपाली सेना सदस्यहरू संयुक्त राष्ट्रसंघअन्तर्गतका ११ वटा शान्ति मिसनहरूमा कार्यरत छन्।

    सिरियाबाट फर्किएको १९७ सदस्यीय टोलीको स्थानमा हालै मात्र प्रमुख सेनानी रविजंग खड्का नेतृत्वको २०२ सदस्यीय नयाँ टोली मिसन इलाकातर्फ प्रस्थान गरिसकेको छ। हाल सिरिया मिसनमा मात्रै ४४८ जना नेपाली सेना खटिएका छन्, जसमा सैनिक पर्यवेक्षक, स्टाफ अफिसर र विभिन्न युनिटहरू रहेका छन्।

    यो घटनाले नेपाली सेनाको अन्तर्राष्ट्रिय मिसनमा व्यावसायिक क्षमता, जोखिम व्यवस्थापन, र नेतृत्वको गुणस्तरमाथि केही प्रश्न उठाएको छ। युद्धग्रस्त क्षेत्रको संवेदनशीलताको बाबजुद युनिटमा ‘इन्गेजमेन्ट आदेश’ नहुनु वा त्यसको व्याख्या अस्पष्ट हुनु नेतृत्वको तयारीमाथि नै प्रश्न हुनसक्छ।

    स्रोत भन्छ, “हामी संसारका सबैभन्दा ठूला टुकडी पठाउने देशमध्ये परेका छौँ, तर यस्तो लापरवाहीले विश्वभर हाम्रो क्षमतामाथि नै प्रश्न उठ्न सक्छ।” सैनिक जंगीअड्डाका अधिकारीहरूका अनुसार, यो छानबिनको उद्देश्य कसैलाई दोषी ठहर गर्नु मात्र नभई भविष्यमा यस्ता गल्तीहरू नदोहोरियोस् भन्ने सुनिश्चित गर्नु हो। “हाम्रो मुख्य उद्देश्य सुधार हो,” एक उच्च सैनिक स्रोतको भनाइ छ, “त्यसैले नैतिक र अनुशासनिक हिसाबले समेत गहिरो विश्लेषण भइराखेको हो।”

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images