images
images
  • च्याम्पियन्स ट्रफी : न्युजिल्यान्डलाई ४४ रनले हराउँदै भारत बन्यो समूह विजेता

    काठमाडौं– आईसीसी च्याम्पियन्स ट्रफी अन्तर्गत समूह ए अन्तर्गतको अन्तिम खेलमा भारतले न्युजिल्यान्डलाई ४४ रनले हराएको छ ।

    यो जितसँगै भारत समूहचरणमा अपराजित रहँदै समूह विजेता बनेर सेमिफाइनल प्रवेश गरेको छ । यसअघि बंगलादेश र पाकिस्तानलाई हराएको न्युजिल्यान्ड आज भारतसँग पराजित भए पनि समूह उपविजेता बन्दै सेमिफाइनल पुगेको छ ।

    दुबईमा भएको आजको खेलमा भारतले न्युजिल्यान्डलाई २५० रनको मध्यम लक्ष्य दिएको थियो । तर न्युजिल्यान्ड ४५ दशमलव ३ ओभरमा अलआउट हुँदै २०५ रनमै समेटियो ।

    भारतका लागि वरुण चक्रवर्तीले कसिलो बलिङ गरे । १० ओभर बलिङ गरेका उनले ४२ रन खर्चिएर ५ विकेट लिए । यस्तै कुलदीप यादवले २, हार्दिक पाण्ड्या, अक्षर पटेल र रविन्द्र जडेजाले एक/एक विकेट लिए ।

    ब्याटिङमा न्युजिल्यान्डका लागि केन विलियम्सनले सर्वाधिक ८१ रन बनाउँदा मिचेल सान्टनेरले २८ तथा विल यौङले २२ रन जोडे । यस्तै ड्यारेल मिचेलले १७, टम लेथमले १४ र ग्लेन फिलिप्सले १२ रन जोडे । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

    टस हारेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय ४९ रन बनाएको थियो । भारतका लागि श्रेयस ऐयरले सर्वाधिक ७९ रनको योगदान दिए । उनले ९८ बलमा ४ चौका र २ छक्का प्रहार गरे । उनलाई अक्षर पटेलले ६१ बलमा ४२ रन जोडेर राम्रो साथ दिए । पटेलले ३ चौका र १ छक्का हिर्काए ।

    हार्दिक पाण्ड्याले ४५ रनको महत्त्वपूर्ण इनिङ्स खेले । उनले ४५ बलमा ४ चौका र २ छक्का प्रहार गरे ।

    केएल राहुलले २३ रन बनाए भने रवीन्द्र जडेजाले १६ रन जोडे । कप्तान रोहित शर्मा १५ रन तथा विराट कोहली ११ रन बनाएर पभेलियन फर्किए । शुभमन गिलले २ रन मात्र बनाउन सके ।

    न्युजिल्याण्डका लागि म्याट हेनरीले ८ ओभर बलिङ गर्दै ४२ रन खर्चेर ५ विकेट लिए । कायल जेमिसन, विल ओ’रोर्क, मिचेल स्यान्टनर र रचिन रवीन्द्रले १–१ विकेट हात पारे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images