काठमाडौं । ङादी ग्रुप पावरले हकप्रदमा अवितरित शेयर लिलाम बिक्री गर्ने भएको छ। कम्पनीले सर्वसाधारण समूहको ८ लाख ७३ हजार ६१ दशमलव २२५ कित्ता शेयर फागुन २० गतेदेखि लिलाम गर्न लागेको हो ।
उक्त शेयर खरिद गर्नका लागि न्युनतम मूल्य १०० रुपैयाँ कायम गरेकोले सो भन्दा बढी मूल्य कबुल गरि आवेदन दिनु पर्ने छ । सबै भन्दा बढी मूल्य कबुल गर्नेले शेयर पाउने कम्पनीले जानकारी दिएको छ ।
लिलामीको शेयरमा आवेदन दिंदा न्युनतम १०० कित्ता र अधिकतम भने पुरै शेयरको लागि आवेदन दिन सकिने छ । इच्छुक लगानीकर्ताले फागुन २८ गतेसम्म आवेदन दिन सक्ने जनाइएको छ ।
सिद्धार्थ क्यापिटलको कार्यालय, नक्साल, सिद्धार्थ बैंकको शाखाहरु विराटनगर, बिर्तामोड, बिरगंज, जनकपुर, हेटौडा, नारायणगढ, पोखरा, बाग्लुङ, बुटवल, घोराही, नेपालगंज, सुर्खेत, धनगढी, र महेन्द्रनगर शाखाबाट आवेदन दिन सकिने छ ।
ङादी ग्रुप पावरले पुस २३ गतेदेखि माघ २९ गतेसम्म १ः१ अनुपातमा १ अर्ब ८५ करोड १२ लाख ७९ हजार २२२।५० रुपैयाँ बराबरको १ करोड ८५ लाख १२ हजार ७९२।२२५ कित्ता हकप्रद सेयर निष्काशन गरेको थियो । हकप्रद बिक्री नभएको शेयर लिलाम हुन लागेको हो ।






















