च्याम्पियन्स ट्रफि क्रिकेटमा भारतले पाकिस्तानमाथि ६ विकेटको प्रभावसाली जित निकाल्दै सेमिफाइनल संभावना बलियो बनाएको छ। विराट कोहलीले आफ्नो करिअरको ५१ औं शतक प्रहार गर्दै टिमको जित निश्चित गरेसँगै आयोजक पाकिस्तान प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको छ।
भारत भने अन्तिम खेल अगावै सेमिफाइनल सम्भावना बलियो बनायो। उसले लगातार दुई जित निकाल्दै ४ अङ्क बनाएको छ। अब भोली हुने खेलमा न्युजिल्यान्डले बंगलादेशलाई हराएमा पाकिस्तान र बंगलादेश अन्तिम खेल अगावै प्रतियोगिताबाट बाहिरिने छन्।
आइतबार समूह ‘ए’ को दोस्रो खेल अन्तर्गत दुबइमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले दिएको २ सय ४१ रनको लक्ष्य भारतले ४५ बल बाँकी हुँदै ४ विकेट गुमाएर पुरा गर्यो। भारतको जितमा विराट कोहलीले अविजित १०० रनको शतकीय इनिङ खेले। उनले १११ बलमा ७ चौका प्रहार गरेका थिए।
अन्तिम ३ रन चाहिंदा चौका प्रहार गर्दै कोहलीले आफ्नो शतक पुरा गरेका थिए। कोहली बाहेक श्रेयस अय्यरले ५६ रनको अर्धशतकीय इनिङ खेले। त्यस्तै शुभमन गिलले ४६ रन बनाउँदा रोहित शर्मा २० रनमा आउट भएका थिए। पाकिस्तानका लागि सहिन साहा अफ्रिदीले २ विकेट लिंदा अब्रार अहमेद र खुसदिल साहले १-१ विकेट लिएका थिए।
त्यसअघि पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि साउद सकिलले ६२ रनको अर्धशतकीय इनिङ सर्वाधिक रह्यो। उनी बाहेक मोहम्मद रिजवानले ४६ रन बनाउँदा खुसदिल शाहले ३८ रन बनाउँदा नसिम साहाले १४ रन बनाउँदा बाबर अजामले २३ रन बनाउँदा इमामुम उल हकले १० रन बनाएका थिए। यसअघि पाकिस्तान आफ्नो पहिलो खेलमा न्युजिल्यान्डसँग पराजित भएको थियो। भारतले भने बंगलादेशलाई हराएको थियो।


विश्व खबर 


















