images
images
  • १० खेलाडीमा सिमित बार्सिलोनाको फराकिलो जित

    फर्मिक लोपेजले गोल गरेको १५ मिनेटमा नै रातो कार्ड खाँदै मैदान छाडेपछि १० खेलाडीमा समेटिएको बार्सिलोनाले स्पेनिस ला लिगामा सेभिल्लामाथि फराकिलो जित दर्ता गरेको छ।

    आइतबार राति भएको खेलमा १० खेलाडीमा सिमित बार्सिलोनाले सेभिल्लामाथि ४–१ को जित दर्ता गरेको हो।

    पहिलो हाफको सातौँ मिनेटमा रोवर्टो लेवान्डोस्कीको गोलमा बार्सिलोनाले सुरुवाती अग्रता बनाएको थियो।

    तर त्यसको खुसी मनाएर सम्हालिन नपाउँदै बार्सिलोनाले गोल खान पुग्यो। बार्सिलोनाले गोल गरेको १ मिनेटपछि नै रुवेन भार्गसले सेभिल्लालाई बराबरीमा ल्याएका थिए।

    वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका फर्मिनले दोस्रो हाफको सुरुवातमा नै गोल गर्दै बार्सिलोनालाई पुनः अग्रता दिलाएका थिए। उनी पहिलो हाफको ३८ औँ मिनेटमा गाभीको स्थान लिदै मैदान छिरेका थिए। तर ६२ औँ मिनेटमा सिधै रातो कार्ड खाँदै मैदान छाडे।

    त्यसअघि खेलको ५५ औँ मिनेटमा राफिन्हाको गोलमा बार्सिलोनाले अग्रता फराकिलो पारेको थियो। खेलको ८९ औँ मिनेटमा इरिक गार्सियाको गोलमा बार्सिलोनाले ४–१ को जित दर्ता गर्यो।

    जितसँगै बार्सिलोना ४८ अंकमा तालिकाको तेस्रो स्थानमा छ। रियल मड्रिड ५० अंकमा शीर्ष र एथलेटिको मड्रिड ४९ अंकमा दोस्रो स्थानमा छ।

    गएराति भएको अन्य खेलमा रियल सोसिडाडले स्प्यानोललाई २–१ ले हरायो। भ्यालेन्सियाले लेगेनासमाथि २–० ले तथा गेटाफेले डिपोर्टिभो अभेसमाथि १–० को जित दर्ता गर्यो।

    प्रतिक्रिया दिनुहोस्
    images
    images