काठमाडौं– नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको विषयलाई लिएर सत्तारूढ दल नेपाली कांग्रेस र नेकपा एमालेबीच रस्साकस्सी चलिरहेको छ। करिब दुई महिनामा गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल समाप्त हुने भएपछि कांग्रेसले गभर्नर पद आफ्नो भागमा पर्नुपर्ने माग अघि सारेको छ।
सत्ता गठबन्धनमा एमालेले प्रधानमन्त्री र अर्थमन्त्री पाएको छ। यस्तो अवस्थामा गभर्नर नियुक्ति एमालेकै भागमा पर्ने अनुमान गरिएको भए पनि कांग्रेसले अघिल्लो भागबण्डाका आधारमा गभर्नर आफ्नो पक्षमा आउनुपर्ने तर्क गरिरहेको छ।
गभर्नर पदमा कांग्रेसको अडान
कांग्रेस निकट नेताहरूका अनुसार, अघिल्लो पटक चिरञ्जीवि नेपाल कांग्रेस कोटाबाट गभर्नर नियुक्त भएका थिए, त्यसपछि केपी शर्मा ओली नेतृत्वको सरकारमा महाप्रसाद अधिकारी गभर्नर बने। कांग्रेसले यो पटक गभर्नर कांग्रेसकै हुनुपर्ने बताएको छ।
पार्टी भित्रका शीर्ष नेताहरूले गभर्नर पदका लागि अडान नछाड्ने बताइरहेका छन्। उनीहरूले पार्टी सभापति शेरबहादुर देउवालाई समेत यसबारे अवगत गराइसकेका छन्। कांग्रेस समर्थक निजी क्षेत्रका व्यक्तिहरूले पनि गभर्नर पद कांग्रेसकै भागमा पर्नुपर्ने माग गरिरहेका छन्।
भागबण्डामा सहमति खोज्ने प्रयास
धितोपत्र बोर्डको नियुक्तिमा प्रधानमन्त्री ओलीले आफ्नो चाहना अनुरूप अध्यक्ष नियुक्त गरिसकेका छन्। हाल नेपाल बीमा प्राधिकरणको अध्यक्ष चयन प्रक्रिया चलिरहेको छ भने नेप्सेको सीईओ पद पनि रिक्त हुने क्रममा छ।
कांग्रेसले गभर्नर पद सुरक्षित राख्ने रणनीति स्वरूप बीमा प्राधिकरणको अध्यक्ष र नेप्सेको सीईओ पद एमालेलाई दिएर गभर्नर आफ्नो भागमा पार्नुपर्ने माग अघि सारेको छ।
देउवा–महतको सक्रियता
कांग्रेसका नेता प्रकाशशरण महतले यो विषयमा पार्टीभित्र र अन्य सरोकारवालासँग छलफल गरिरहेका छन्। पार्टी सभापति देउवाले पनि आर्थिक मामिलामा महतको सल्लाहलाई प्राथमिकता दिने भएकाले उनी सरकारसँग संवादमा सक्रिय छन्।
सहमति नहुँदा सत्ता गठबन्धनमा असर पर्न सक्ने
गभर्नर पदको विवाद सत्ता गठबन्धनबीच तनावको विषय बन्ने संकेत देखिएको छ। यदि एमालेले गभर्नर पद आफ्नो भागमा राख्न चाहेमा, कांग्रेसलाई अन्य नियुक्तिहरूमा सन्तुलन मिलाउनुपर्ने हुन सक्छ। तर, कांग्रेस गभर्नर पद नछाड्ने अडानमा रहेकाले सहमति हुन नसके गठबन्धनमै असर पर्न सक्ने संकेत देखिएको छ।























