काठमाडौं–नेपाली कांग्रेसको महाधिवेशन कहिले गर्ने ? भन्ने सन्दर्भमा कोइराला परिवारबीच फाटो उत्पन्न भएको छ । इतरपक्षको नेतृत्व गरिरहेका डा.शेखर कोइराला कुनै पनि हालतमा विधानद्वारा निर्धारित मितिमै १५औँ महाधिवेशन सम्पन्न गर्न दबाब अभियानमा छन् । तर डा.शशांक कोइराला भने महाधिवेशन ३ वर्षपछि धकेल्ने रणनीतिमा जुटेका छन् ।
कांग्रेसको विधानअनुसार २०८२ पुसको पहिलो साताभित्र १५औँ महाधिवेशन गरिसक्नुपर्नेछ । काबुभन्दा बाहिरको परिस्थिति आएको अवस्थामा भने १ वर्ष म्याद थप्न सकिने व्यवस्था विधानमै छ । यही व्यवस्थालाई टेक्दै विगतमा पनि १ वर्ष म्याद थपेर ५ वर्षको अन्तरालमा महाधिवेशन गर्ने गरिएको दृष्टान्त छ । विश्वस्त स्रोतका अनुसार यसपटक पनि १ वर्ष म्याद थप्ने मनस्थितिमा सभापति शेरबहादुर देउवा देखिएका छन् । यसरी १ वर्ष म्याद थप्दा २०८३ पुसमा १५औँ महाधिवेशन हुनेछ ।
यता २०८४ साल वैशाखभित्र स्थानीय र मंसिरभित्र प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव गराउनै पर्ने संवैधानिक व्यवस्था छ । चुनावको मुखमा पार्टीको महाधिवेशन गर्नु घातक हुने तर्क शशांकको छ । हुन पनि कांग्रेसको महाधिवेशनमा वडा तहदेखि नै गुन्डागर्दी र आर्थिक चलखेल हुने गरेको छ । कांग्रेसमा २ पक्षबीचको द्वन्द्वमा कार्यकर्ताले ज्यान गुमाउनुपरेको घटना पनि छन् । यस्तो आलो घाउ लिएर स्थानीय तथा आमनिर्वाचनमा जाँदा अन्तरघातको सम्भावना बढ्ने तर्क उनले राख्दै आएका छन् ।
स्थानीय तथा आमनिर्वाचनपछि मात्रै १५औँ महाधिबशेन गर्दा पार्टी सुरक्षित हुने उनको तर्कको पक्षमा कांग्रेसभित्र माहौल बढ्दै गएको छ । गत शुक्रबार बसेको कांग्रेस संसदीय दलको बैठकमा १५औँ महाधिवेशन २०८४ को चुनावपछि मात्रै गर्न नेता र सांसदहरूले माग गरेका छन् । बैठकमा आफ्ना कुरा राख्ने सबैजसो नेताहरूले चुनावको मुखमा महाधिवेशन गर्न नहुने भन्दै निर्वाचनपछि मात्रै महाधिवेशन गर्नुपर्ने माग गरेका थिए । बैठकमा डा.शशांक, डा.नारायण खड्का, ईश्वरी न्यौपानेसहितका नेताले यस्तो माग गर्दैगर्दा इतर पक्षका नेताहरू समेत मौन देखिए ।
बैठकमा सहभागी एक नेताले भने, ‘स्थानीय तहमा टिकट नपाएपछि असन्तुष्ट हुने र पार्टीलाई नै असहयोग गर्ने अभ्यास कांग्रेसमा मात्रै होइन सबै पार्टीमा समस्याको रूपमा रहेको छ । यसले सबै पार्टीको समस्या समाधानका लागि पनि पहिले संघको चुनाव गरेर पछि स्थानीय तहको चुनाव गर्नु उपयुक्त हुने र त्यसपछि मात्रै महाधिवेशन गर्नु सान्दर्भीक हुने सुझाव दिएका छौँ, विधान संशोधनको पहल भइरहेकाले यो विषयलाई पनि मिलाऊ भनेर आवाज उठाएका हौँ ।’
छैन कार्यतालिका
कांग्रेसले १५औं महाधिवेशन मंसिर २०८२ सालभित्रै गर्ने निर्णय गरेपनि कार्यतालिका बनाएको छैन । त्यसैले गैरसंस्थापन पक्ष समयमै महाधिवेशन हुनेमा आशंका व्यक्त गर्छन् । विराटनगरमा १८ मंसिरमा भएको एक कार्यक्रममा नेता कोइरालाले भनेका थिए, ‘१५औं महाधिवेशन समयमा हुने छाँटकाँट देखिरहेको छैन । हामीले यसको लागि दबाब दिनुपर्ने छ ।’
तोकिएको समयमा महाधिवेशन नभए पार्टी धरासयी हुने र त्यसको असर आगामी निर्वाचनहरूमा पर्ने भएकाले त्यसका लागि चनाखो हुनुपर्ने कोइरालाको भनाइ छ ।
शुक्रबार बसेको संसदीय दलको बैठकमा केही नेताहरूले २०८४ निर्वाचन पछाडि पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका थिए । पूर्वमहामन्त्री डा.शशांक कोइराला र डा. नारायण खड्कालगायतले आम निर्वाचन पछि नै महाधिवेशन गर्नुपर्नेमा जोड दिएका थिए । तर शनिबार काठमाडौंमा एक कार्यक्रममा बोल्दै महामन्त्री थापाले महाधिवेशन २०८४ को निर्वाचन अघि गर्नुपर्ने बताए । ‘संविधानमै कुनै पनि पार्टीको एउटा महाअधिवेशन र अर्को महाअधिवेशनको समय ५ वर्षको व्यवस्था गरिएको छ,’ थापाले भने, ‘त्यसैले २०८४ को स्थानीय र आम निर्वाचनभन्दा अगाडि पार्टीको १५ औं महाअधिवेशन गनुपर्छ ।’ थापाले भने, ‘महाअधिवेशनबाट आएको नयाँ नेतृत्वले नै निर्वाचनमा पार्टीको नेतृत्व गर्छ ।’
कांग्रेसले १४ औं महाधिवेशन २०७८ पुसमा सम्पन्न गरेको थियो । उक्त मितिले मंसिर २०८२ भित्र १५ औं महाधिवेशन गरिसक्नुपर्ने संवैधानिक व्यवस्था छ । तर, महाअधिवेशन लम्ब्निेसक्ने भन्दै केही नेताहरू शशंकित छन् । ती नेताहरू २०८३ मा महाधिवेशन प्रक्रिया सकाएर २०८४ मा निर्वाचनमा जानुपर्ने बताउँछन् ।
महाधिवेशनको मिति निश्चित नभएपनि पार्टीभित्र विरासत बोकेका ३ शीर्ष नेताहरू पनि सक्रिय छन् । जब–जब पार्टीको महाधिवेशन आउँछ, उनीहरूको सक्रियता बढ्छ । पूर्वउपसभापति विमलेन्द्र निधि र पार्टीका पूर्वमहामन्त्रीद्वय शशांक कोइराला र प्रकाशमान सिंहले नेतृत्वकै लागि एक चरण छलफल गरिसकेका हुन् । शशांक बीपी कोइराला, विमलेन्द्र महेन्द्रनारायण निधि र प्रकाशमान गणेशमानका सिंहका छोरा हुन् ।
देउवाको राणनीति
विधानअनुसार २ पटक सभापति भएका देउवा अब तेस्रो पटक सभापति पदमा उम्मेदवार हुन पाउँदैनन् । सभापति देउवाले उमेरले पनि अब आफू अवकाशमा जाने बताइसकेका छन् । तर निर्वाचनको बहाना देखाएर देउवाले थप १ वर्ष कार्यकाल लम्ब्याउन चाहन्छन् । संविधान र पार्टीको विधान दुवैले यसका लागि छुट दिएको छ ।
कांग्रेसको विधानको धारा ४३ ले पार्टीका सबै तह र निकायका पदाधिकारी तथा सदस्यहरूको पदावधि ४ वर्षको हुने र असाधारण परिस्थिति भए केन्द्रीय कार्यसमितिले सोको कारण खोली बढीमा १ वर्षसम्मको अवधि बढाउन सक्ने व्यवस्था गरेको छ । त्यसरी थपिएको समयमा समेत महाधिवेशन नभए संविधानले थप ६ महिना म्याद थपेर महाधिवेशन गर्नुपर्ने व्यवस्था गरेको छ । कांग्रेसले संविधानको यही व्यवस्थालाई टेकेर १३ औं महाधिवेशन भएको साढे ५ वर्षपछि मंसिर २०७८मा १४ औं महाधिवेशन गरेको थियो ।
कांग्रेस स्रोतका अनुसार १५ औं महाधिवेशनको प्रक्रिया पार्टी सभापति देउवा प्रधानमन्त्री भएपछि मात्रै सुरु गर्ने तयारी आन्तरिक रूपमा गरिएको छ । सभापति देउवाले आफू प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने निकट नेताहरूलाई बताएका छन् । वर्तमान गठबन्धन सरकार निर्माणका बेला कांग्रेस र एमालेबीच भएको ७ बुँदे सहमतिमा असार २०८३ सम्म एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री रहने र त्यसपछि आम निर्वाचनसम्म कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ । यही सहमति देखाएर वर्तमान केन्द्रीय समितिमा ८० प्रतिशत बढी बहुमत रहेका देउवाले असार २०८३ पछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने इच्छा प्रकट गरेका छन् ।
देउवाले पार्टी नेतृत्वमा आफ्नो अन्तिम कार्यकाल भएकाले कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रधानमन्त्री भएपछि मात्रै महाधिवेशन गर्ने चाहना राखेको उनी निकट एक पदाधिकारी बताउँछन् । ती पदाधिकारीका अनुसार कांग्रेस र एमालेबीच भएको सहमतिअनुसार प्रधानमन्त्री हुने समय निश्चित भइसकेकाले प्रधानमन्त्री भएपछि महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने आफ्नो चाहना रहेको देउवाले आफू निकटका नेताहरूलाई बताएका छन् । देउवामा आफू प्रधानमन्त्री नहुँदै पार्टी महाधिवेशन गरेमा संसदीय दलको नेताबाट कतै हट्नु पर्ने हो कि भन्ने त्रास छ ।
यसकारण देउवाले विधानले दिएको अधिकार प्रयोग गरी केन्द्रीय कार्यसमितिको बहुमतले वर्तमान कार्यसमितिको म्याद १ वर्ष थप्ने तयारीमा छन् । १ वर्ष समय थपिएको बेलामा कांग्रेस र एमाले सहमतिमा दरार नआए देउवा प्रधानमन्त्री बनिसक्छन् । त्यसपछि मात्रै महाधिवेशनको प्रक्रिया सुरु गर्ने देउवाको चाहना छ ।
एक पूर्वपदाधिकारी भन्छन्, ‘सभापतिजीलाई २०८४को आम निर्वाचनमा आफैं टिकट वितरण गर्ने चाहना छ । महामन्त्रीजीहरूलाई पनि १÷२ वर्ष पर धकल्दा दोस्रो पुस्तालाई पनि एकै पटक बिदा गरेर आफूमा नेतृत्व ल्याउन सकिन्छ की भन्ने सोच देखिन्छ । अब विधान संशोधन गरेर २०८२ मा महाधिवेशन हुँदैन ।’
महामन्त्री थापाले भने, ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त । हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिँ कल्ले हो त ? कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन । अहिले मौका आएको छ अहिले गर्नुपर्छ । ०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौँ, यति गर्यौँ भन्ने हो । अनि पो नागरिकलाई भन्न सकिन्छ ।’
फेरिँदो समीकरण
१५औँ महाधिवेशनको मितिबारे अन्योल भइरहँदा नेपाली कांग्रेसभित्र गुट परिवर्तनको शृंखला एक्कासि बढेको छ । इतर पक्षबाट महामन्त्री पदमा निर्वाचित गगन थापा संस्थापन पक्षतिर लागे लगत्तै संस्थापन पक्षका केही नेताहरूले कित्ता परिवर्तन गरेका छन् ।
गगन थापाको प्रवेशले आफ्नो हैसियत कमजोर हुने आँकलनका साथ महेन्द्र यादव, किशोरसिंह राठौर, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बेलगायत ४ जना सहमहामन्त्रीहरू शेखरको सम्पर्कमा पुगेका छन् । जसमध्ये महेन्द्र यादव केही महिनाअघि नै नेता बालकृष्ण खाँणका साथ कोइराला समूहमा सक्रिय भएका हुन् । मोहन बस्नेत, एनपी साउद, शंकर भण्डारी लगायतका नेताहरू यसअघि नै उनको सम्पर्कमा पुगिसकेका थिए । कोइरालाको सम्पर्कमा पुगेका नेता बस्नेतको भनाइ छ, ‘फेरि शेरबहादुर देउवा नै सभापतिमा लड्ने भए उहाँकै पक्षमा उभिने थिएँ । तर, कांग्रेसको विधानअनुसार फेरि सभापति नलड्ने भएपछि नेता छान्नुपर्ने हुन्छ, त्यो मैले पनि गर्छु ।’
यसैगरी महामन्त्रीद्वय थापा र विश्वप्रकाश शर्माबीच पछिल्लो समयमा दुरी बढेको छ । पार्टीभित्रको मर्यादाक्रमको कारण देखाउँदै महामन्त्री थापा डा.कोइराला प्रमुखअतिथि रहेको सार्वजनिक कार्यक्रममा जाने गरेका छैनन् । तर, अर्का महामन्त्री शर्मा भने पछिल्ला दिनमा डा.कोइराला प्रमुखअतिथि रहेको कार्यक्रममा पनि जान थालेका छन् । उनको भनाइ छ, ‘को कुन पदमा छ भन्ने कुरा गौण हो । पद भन्ने कुरा तत्कालीन हो, राजनीतिमा निरन्तरता र सिनियारिटी भन्ने कुरा अलग्गै हुन्छ । पार्टीमा डा.शेखर कोइराला, प्रकाशमान सिंह र कृष्णप्रसाद सिटौलालाई म सम्मान गर्छु ।’
महाधिवेशनपछि जाँदैन, ०८४ को चुनावअघि गर्नैपर्छः महामन्त्री थापा
पार्टी महामन्त्री गगनकुमार थापाले कांग्रेसको अधिवेशन १५औँ महाधिवेशन २०८४ को चुनावअगावै हुने दाबी गरे । ०८४ को स्थानीय तह र आमचुनाव पार्टीको नयाँ नेतृत्वले नै गराउने जिकिर गर्दै महामन्त्री थापाले भने, ‘२०८४ को स्थानीय चुनाव, आम चुनावभन्दा अगाडि पार्टीको अधिवेशन नगरीकन पाइँदै पाइँदैन । त्योभन्दा पहिले पार्टीको अधिवेशन गर्नैपर्छ । अधिवेशनबाट आएको नयाँ नेतृत्व हुन्छ । त्यो नयाँ नेतृत्वले नै चुनावको नेतृत्व गर्छ ।’ महामन्त्री थापाले महाधिवेशन कति छिटो गर्न सकिन्छ भन्ने बारेमा पार्टीभित्र छलफल भइरहेको पनि जानकारी दिए । समयमै गर्नेगरी आफूहरूले मिहिनेत गरिरहेको उनको भनाइ छ । केही नेताहरूको भनाइले अधिवेशन पछि जान्छ कि भन्ने लागेको भए पनि त्यसमा ‘कन्फ्युज’ नहुन कार्यकर्तालाई महामन्त्री थापाले आग्रह गरे ।
पार्टी एकता गरेर पनि अधिवेशन पछि सार्न नमिल्ने उहाँको जिकिर छ । कांग्रेस संस्थापनइतरका नेता डा।शेखर कोइरालाले पनि आगामी महाधिवेशन २०८२ मै गर्नुपर्ने धारणा राख्दै आउनुभएको छ । एक अर्को प्रसंगमा महामन्त्री थापाले पार्टीका मन्त्री र जनप्रतिनिधिहरूलाई राम्रो अंक ल्याउने गरी काम गर्न निर्देशनसमेत दिए। आफैँ सत्तामा भएर यो भएन, त्यो भएन भन्नुभन्दा काम गरेर राम्रो अंक ल्याउन निर्देशन दिँदै महामन्त्री थापाले भने, ‘पद हामीले लिने अनि बाहिरको मान्छेले गाली गर्छ ठीक छ त । हामीले नै यो पनि भएन त्यो पनि भएन भन्ने ? गर्ने चाहिँ कल्ले हो त ? कांग्रेसले ०८४ मा गर्छु भन्ने होइन । अहिले मौका आएको छ अहिले गर्नुपर्छ । ०८४ मा त रिपोर्ड कार्ड लिएर जाने हो । यति गर्छौं भनेका थियौँ, यति गर्यौँ भन्ने हो । अनि पो नागरिकलाई भन्न सकिन्छ ।’
क्रियाशील सदस्यताको सधैँ किचलो
सामान्यतया महाधिवेशन घोषणापूर्व नै क्रियाशील सदस्यता वितरण र नवीकरण टुंग्याउनुपर्ने हो । तर, कांग्रेसमा अलमल देखिएको छ । महाधिवेशनको चटारोले सदस्यताको विवादलाई थाती राखेरसमेत कांग्रेस अगाडि बढ्दै आएको स्थिति पटक-पटक बनेको छ । यसैले महाधिवेशनपूर्व सदस्यताको किचलो सकाउन खोजिएको छ ।
महाधिवेशन घोषणा नगरी सदस्यताको विषय टुंग्याउन महामन्त्री गगन थापासहितका टिम जुटेको पनि छ । तर, महाधिवेशनको शक्ति सन्तुलनमा प्रभाव पार्ने प्रारम्भिक सदस्यताको विषय फेरि पनि सहजै अगाडि बढ्न सक्ने स्थिति देखिएको छैन । सदस्यताको विषय टुंग्याउन कांग्रेसले महामन्त्री गगन थापाको संयोजकत्वमा तीनरचार सदस्यीय क्रियाशील सदस्यता व्यवस्थापन समिति गठन गरेको थियो । जसमा केन्द्रीय सदस्यहरू सीता गुरुङ, प्रकाश स्नेही रसाइली र योगेन्द्र चौधरी सदस्य छन् ।
४ भदौमा समितिले ७७ वटै जिल्ला कार्यसमितिलाई परिपत्र गर्दै चैतभित्रै सदस्यता वितरण र नवीकरणको काम सक्न भनेको थियो । तर, तल्लो तहमा विवाद देखाएर सदस्यताको काम रोक्ने क्रम जारी छ । समितिले चैत २९ गतेभित्र ८ लाख ८९ हजार क्रियाशील सदस्यको नवीकरण टुंग्याउन परिपत्र जारी गरेको छ । तर, अपेक्षित रूपमा सदस्यको नवीकरण भएको छैन । अघिल्लो परिपत्रले नभएपछि फेरि माघ ४ गते पनि सदस्यताबारे कांग्रेसले फेरि जिल्लालाई परिपत्र गरेको छ । तर, उत्साह देखिने गरी सदस्यताको नवीकरण नभएको नेताहरूको दावी छ । १४औँ महाधिवेशनसम्मै सदस्यताको विवाद भएपछि कतिपय क्षेत्रको सदस्यता विवाद १५औँ महाधिवेशनका लागि पनि थाती राखिएको छ ।



















