images
images
  • पर्यटनमन्त्री पाण्डेले उद्घाटन गरे आइएमई ग्रुपको ‘इला कम्फर्ट’ होटल

    बागलुङ – आइएमई ग्रुपको लगानीमा बागलुङमा ‘इला कम्फर्ट’ होटल सञ्चालनमा आएको छ।

    शनिबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेको उपस्थितिमा होटलको औपचारिक उद्घाटन गरिएको हो।

    होटलका अध्यक्ष सचिन ढकालका अनुसार ‘इला कम्फर्ट’ होटल ३ रोपनी क्षेत्रफलमा फैलिएको छ। करिब ३० करोड रुपैयाँको लगानीमा निर्माण सम्पन्न होटलमा ३० वटा कोठा छन्।

    होटल तीनतारे स्तरको भए पनि कोठाभित्रका सुविधा पाँचतारे होटलसरह प्रदान गरिएको अध्यक्ष ढकालले जानकारी दिए।

    आमाको सपना साकार पार्दै चन्द्र ढकाल
    उनले भने, ‘नेपाल उद्योग वाणिज्य महासंघको वरिष्ठ उपाध्यक्षमा निर्वाचित भएपछि परिवारसहित महासंघका केही साथीहरूसँग बागलुङ आएको थिएँ। सबैका लागि एउटै होटलमा ठाउँ नपुग्दा आमा भन्नुहुन्थ्यो, ‘एउटा घर भएको भए सबै सँगै बस्न पाइन्थ्यो।’ त्यही भावनाले छोएर यहाँ ‘आमाको घर’ को रूपमा इला कम्फर्ट होटल स्थापना गरिएको हो।’  चन्द्र ढकालले आमाको इच्छाबाट प्रेरित भएर होटल स्थापना गरेको बताए।

    ढकालले पर्यटन पूर्वाधारमा आइएमई ग्रुपको लगानी निरन्तर बढ्ने बताए। सातै प्रदेशमा ठूला पूर्वाधार विकास गर्ने योजनाअनुसार आफू अगाडि बढिरहेको उल्लेख गर्दै उनले निजी क्षेत्रको लगानीलाई सरकारले प्राथमिकता दिनुपर्ने धारणा राखे।

    कार्यक्रममा मन्त्री पाण्डेले बागलुङमा सुविधासम्पन्न होटल उद्घाटनसँगै पर्यटनको आशा पनि खुलेको बताए। उनले भने, ‘आज होटल मात्र होइन, आशाको उद्घाटन भएको दिन हो। निजी क्षेत्रको ठूलो लगानीले पर्यटनको भविष्य अझ उज्यालो देखाएको छ।’

    उक्त अवसरमा कांग्रेस सहमहामन्त्री जीवन परियार, सांसद दीपक गिरीलगायतका नेताहरूले होटल स्थापनाले बागलुङको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण योगदान गर्ने बताए। गण्डकी प्रदेशका स्वास्थ्य मन्त्री कृष्ण पाठकले निजी क्षेत्रको लगानीलाई राज्यले प्राथमिकता दिए मात्र पर्यटन क्षेत्र मजबुत हुने धारणा राखे।

    आइएमई ग्रुपको लगानीमा खुलेको ‘इला कम्फर्ट’ होटलले बागलुङमा पर्यटन प्रवर्द्धनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

    होटलमा काली गण्डकी करिडोर तथा मध्य पहाडी लोक मार्ग हुँदै गण्डकी क्षेत्र तथा बागलुङका पर्यटकीय स्थल भ्रमण गर्ने पर्यटक तथा अन्य पाहुनाका लागि गुणस्तरीय सेवा सुविधा उपलब्ध हुनेछ।

    पोखरा विमानस्थलबाट केवल १.५ घन्टाको दूरीमा अवस्थित, पोखरा र बागलुङबीच प्रत्येक ३० मिनेटमा नियमित सार्वजनिक यातायात चल्ने हुँदा होटलले आन्तरिक र अन्तर्राष्ट्रिय यात्रुहरूको लागि सुविधाजनक पहुँचमा रहेको छ।

    इला कम्फर्ट बागलुङले इला ब्रान्डको होटल विस्तार रणनीतिको पहिलो चरणको प्रतिनिधित्व गरेको छ।

    नवलपरासीको गैंडाकोटमामा इला होटल सुरु गर्ने तयारी भइरहेको छ भने नेपालका सबै सातै प्रदेशमा सेवा विस्तार गर्ने योजना छ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images