images
images
  • उपत्यकामा सवारी प्रदूषणको डरलाग्दो तथ्याङ्क : १६० गाडीको प्रदूषण जाँच गर्दा १०० गाडी फेल

    काठमाडौं – काठमाडौं महानगरपालिकाले उपत्यकामा गरिरहेको सवारी प्रदूषण परीक्षणको नतिजा निकै डरलाग्दो देखिएको छ ।

    २९ पुसबाट थालिएको सवारी परीक्षणको सोमबारसम्म डिजेलबाट चल्ने १४० वटा र पेट्रोलबाट चल्ने २० वटा गरी १६० वटा सवारी साधनको जाँच भएको छ । यीमध्ये डिजेलबाट चल्ने ९४ वटा र पेट्रोलबाट चल्ने ६ वटा सवारी  जाँचमा फेल भएका छन् ।

    सोमबार काठमाडौं चक्रपथ सुकेधारा भएर गुडिरहेका ४० वटा डिजेलका सवारी साधनको प्रदूषण चेकजाँच गर्दा ७८ प्रतिशत अर्थात् ३१ वटा फेल भएका भेटिएको महानगरले जनाएको छ । यस्तै ६ माघमा टेकुमा ४० वटा सवारी साधन परीक्षण गर्दा ३३ वटा फेल भएका भेटिएका थिए ।

    यस्तै ४ माघमा सिनामंगल क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १० वटा प्रदूषण मापदण्ड बाहिरका पाइएको थियो । ३ माघमा पानीपोखरी क्षेत्रमा २० वटा सवारी साधनको चेकजाँच गर्दा १४ वटा फेल भएका साधन थिए।

    २ माघमा जमल क्षेत्रमा २० वटाको चेकजाँच गर्दा ६ वटा फेल भएका थिए । पहिलोपटक २९ पुसमा बबरमहलमा २० वटा परीक्षण गर्दा ६ वटा फेल भेटिएका थिए ।

    यसरी गरिएको परीक्षणमा मापदण्डबाहिर रहेका सवारी साधनलाई मर्मत गर्न, त्यसपछि पुनः परीक्षण गराउन र मापदण्डभित्र मात्र सञ्चालन गर्न कवुलियतनामा गराइएको महानगरले जनाएको छ ।

    वायु प्रदूषण नियन्त्रणका प्रयासमध्ये सवारी साधनबाट निस्कने प्रदूषक तत्व न्यूनीकरण तथा नियन्त्रणका लागि महानगरपालिकाको वातावरण व्यवस्थापन विभागले नेपाल सरकारको वातावरण विभाग, उपत्यका ट्राफिक प्रहरी कार्यालय र महानगर प्रहरी बलसँगको सहकार्यमा स्थलगत चेकजाँच गरिरहेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images