images
images
  • भाटभटेनी क्लब मेम्बरलाई साढे २२ करोडको गिफ्ट भौचर

     काठमाडौं – भाटभटेनी सुपर स्टोरले नियमित ग्राहकलाई यो वर्ष २२ करोड रुपैयाँभन्दा बढी परिमाण बराबरको गिफ्ट भौचर घोषणा गरेको छ ।

    यस्तो उपहार प्राप्त गर्ने व्यक्तिले पाएको गिफ्ट भौचर बराबर सामग्री देशभरि फैलिएका २७ वटा भाटभटेनी स्टोरमा जहाँबाट पनि खरिद गर्न सकिने भाटभटेनीले जनाएको छ ।

    यो उपहार भाटभटेनी क्लबका सदस्यता प्राप्त गर्नेमध्ये १ लाख ९ हजार ग्राहकले प्राप्त गर्नेछन् ।

    भाटभटेनी क्लबमा सदस्य रहेका लाखौं ग्राहकमध्ये हालसम्म १ लाख ९ हजार ५ सय २९ जनाले गिफ्ट भौचर प्राप्त गरेको प्रमुख सञ्चालन अधिकृत (सीओओ) पानु पौडेलले जानकारी दिए ।

    कम्तीमा १ हजार ३ सयदेखि २ लाख रुपैयाँसम्मको गिफ्ट भौचर ती सदस्यले प्राप्त गरिसकेको उनले बताए । यसरी बाँडिने गिफ्ट भौचर कूल २२ करोड ५२ लाख ४९ हजार ३ सय २४ रुपैयाँ बराबर हुनेछ ।

    सीओओ पौडेलका अनुसार गिफ्ट भौचर बाँड्ने कार्य ६ माघदेखि ९ फागुन २०८१ सम्म रहने छ ।

    भाटभटेनी सुपर स्टोरले ग्राहकका लागि धेरै प्रकारका सुविधाका प्याकेज बेला–बेला घोषणा गर्दै आएको छ । चाडबाड र पर्वहरूमा पनि सधैं विशेष छुट दिंदै आएको पनि पौडेलले बताए ।

    ग्राहक सुविधा बाहेक भाटभटेनी सुपर स्टोरका अध्यक्ष मीनबहादुर गुरुङले सामाजिक सेवामा ठूलो योगदान दिँदै आएका छन् ।

    गत असोज महिनामा काठमाडौं र देशका अन्य क्षेत्रमा आएको बाढी-पहिरोबाट पीडितको सहयोगका लागि उनले प्रधानमन्त्री केपी शर्मा ओलीमार्फत १ करोड ११ लाख ११ हजार १ सय ११ रुपैयाँ सहयोग गरेका थिए ।

    त्यस्तै, नेकपा एमालेको कार्यालय बाढीको डुबानमा परेपछि गुरुङले करिब १० रोपनी जग्गा एमाले कार्यालय बनाउन सहयोग गर्ने र त्यसमा भवन पनि बनाइदिने घोषणा गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images