काठमाडौं, पुस १९ गते ।
नेकपा एमालेबाट साधारण सदस्यबाट समेत निलम्बनमा परेका एमाले पूर्वउपाध्यक्ष डा. भीम रावलले जारी दस्तावेजमा चितवनमा सम्पन्न दशौं महाधिवेशनमा धाँधलीको पूर्वतयारीदेखि नेकपा विभाजनसम्मका विषयमा प्रश्नैप्रश्न गरेका छन् ।
पूर्व उपप्रधानमन्त्री एवम् गृहमन्त्री समेत रहेका डा. रावलले मुख्यगरी हाल प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र ओली गुटप्रति सो प्रश्नहरु तेर्साएका हुन् । लामो समयदेखि एमालेको औपचारिक कार्यक्रम तथा गतिविधिमा नदेखिएका रावलबारे यही पुस १० गते च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा बसेको बैठकले सो निर्णय गरेको थियो । एमालेले रावलसँगै पार्टीको भवन निर्माणका सम्बन्धमा फरक मत राखेका स्थायी कमिटी सदस्य डा. बिन्दा पाण्डे र केन्द्रीय सदस्य उषाकिरण तिमल्सिनालाई ६ महिनाका लागि जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको थियो ।
ओलीको बेवास्ताले निरंकुशताको झल्को दिँदैन र ?
रावलले आफ्नो दस्तावेजमा भनेका छन्, ‘केपी ओलीको त्यस्तै सोच, चरित्र र व्यवहार तथा निरंकुश, स्वेच्छाचारी र तानाशाही सत्ता उन्माद मेरो सदस्यता खारेजीको कारण बनेको छ । पार्टीको गरिमामाथि धब्बा नलागोस् भनी अभिव्यक्ति दिनुहुने स्थायी कमिटी सदस्य डा.बिन्दा पाण्डे र केन्द्रीय कमिटी सदस्य उषाकिरण तिमल्सिनालाई निलम्बन गरिएको छ । केपी ओलीले हामीहरुलाई कथित कारवाहीको प्रस्ताव राख्दा त्यसको विरोध गर्ने सचिवालयका सात जना नेताहरुलाई धन्यवाद दिन चाहन्छु । उहाँहरुले भनेको कुराप्रति केपी ओलीको बेवास्ताले निरंकुशताको झल्को दिँदैन र ?”
दशौं महाधिवेशनलाई एकता महाधिवेशन भनिए पनि महाधिवेशन पूर्व तयारी बैठकदेखि नै आफूलाई बेवास्ता मात्र नभएर आफ्नै व्यवस्थाले बसेको होटलमा रक्सी खुवाएका केटाहरुलाई आफूविरुद्ध नाराबाजी गर्न लगाइएको उनले बताएका छन् ।
जुन पदमा उठेपनि हुन्छ भन्ने केपी ओली होइन र ?
उनले भनें, ‘महाधिवेशनको कार्यक्रम तय गर्नको लागि पूर्व तयारीका लागि केन्द्रीय कार्यालय, च्यासलमा बसेको स्थायी कमिटीको बैठकमा मैले पार्टीमा विभाजन आएको बेला नेतृत्व चुन्ने महाधिवेशनमा कसरी जाने ? सहमति गर्ने कि स्वच्छ निर्वाचन गर्ने भनी प्रश्न गर्दै छलफल गरौं भनेको थिएँ । अध्यक्ष ओलीले छलफल नै गर्न नदिएपछि र अरु सबै मौन रहेपछि मैले भनेको थिएँ – यस विषयमा छलफल नहुने हो भने म केन्द्रीय कमिटीको अध्यक्ष पदमा उम्मेदवारी दिन्छु । तर, दम्भपूर्ण शैलीमा ‘जसले जेमा उठेपनि हुन्छ’ भन्दै छलफल गर्न नदिने तपाई केपी ओली होइन र ?’
अनि शपथ लिइनँ…
महाधिवेशनका सन्दर्भमा उनले भनेका छन्, ‘उद्घाटन सत्रको अघिल्लो दिनको साँझ म सौराहा पुगेको थिएँ । बस्ने ठाउँको अत्तोपत्तो थिएन । आफ्ना पक्षधरहरुकालागि भने रोजेको र खोजेको व्यवस्था गरिएको थियो । म आफुनै व्यवस्थामा बसेको होटल बाहिर रक्सी ख्वाएर केटाहरुलाई नाराबाजी गर्न लगाइयो ।’ उनले विधान महाधिवेशनबाट पारित विधानमा पदाधिकारीमा दिएको उम्मेदवारी सदस्यमा स्वतः नरहने भएकोले केन्द्रीय सदस्यमा कसरी जितें ? भन्ने प्रश्न गर्दै शपथ नलिएको खुलाए ।
उनले त्यतिबेला पराजित व्यक्तिले विजयी अध्यक्ष र पदाधिकारीलाई बधाइ ज्ञापन गर्छु भन्दा त्यसो समेत गर्न नदिइएको बताएका छन् । जिम्मेवारी दिनु अघि सम्बन्धित व्यक्तिसँग परामर्श गर्नुु र निजको राय लिनु एमालेमा जन्मकालदेखिकै अभ्यास भएको तर, आफूसँग कुनै परामर्श नै नगरी सल्लाहकार सदस्य बनाइएको उनले बताएका छन् ।
परामर्श नै नगरी सल्लाहकारमा राख्नुको कारण के ?
उनले भनेका छन्, ‘के यस्तो व्यवहारले साँच्चि नै पार्टीमा मलाई यथोचित भूमिका र जिम्मेवारी दिने आशयबाट सल्लाहकारको कुरा गरिएको भन्ने बुझाउँछ र ? यदि मलाई साँच्चै त्यही जिम्मेवारीमा पनि स्वच्छ मनले राख्न खोजेको भए मेरो असहमतिपछि मलाई बोलाएर सल्लाहकार परिषद्मा राख्नुको कारण र त्यहाँ रहेर काम गर्नुपर्ने परिस्थितीबारे नेतृत्व तहबाट विधिवत् जानकारी गराइन्थ्यो होला नि । के त्यो भयो त ?’
उनले महाधिवेशनपछि पार्टीसँग सम्पर्क नगरेको विषयमा समेत स्पष्ट पारे । ‘कि, पार्टी केन्द्रसँग सम्पर्क गर्ने नाममा बिना काम मैले अमुक व्यक्तिहरुको नियमित रुपमा दर्शन गर्नुपथ्र्यो ? माधव नेपालको विरुद्ध गुटबन्दी गरी राष्ट्रिय स्तरमा नै छाया समिति बनाएर काम गरिरहेको बेला वा बैठक नभएको वा कुनै निश्चित काम नभएको बेला बल्खुको केन्द्रीय कार्यालय वा माधव नेपालको घरमा तपाइ केपी ओली धाउनुहुन्थ्यो र ?’
प्रचण्डसँगको सहमति किन कार्यान्वयन नभएको ?
उनले २०७४ मंसिर १० गते को आम निर्वाचनमा नेपाली जनताले एमाले–माओवादीको पार्टी एकीकरण हुने घोषणासहितको गठबन्धनलाई संसदमा झण्डै दुईतिहाइ स्थानमा विजयी गराएको स्मरण गरएका छन् ।
त्यो बेला सरकार गठन भए लगत्तै नेता वामदेव गौतमको संयोजकत्वमा गठित डा. रावलसहित नौ जना रहेको कार्यदलले निकै मिहेनत गरेर तयार पारेको प्रतिवेदन ओली सरकारले कार्यान्वयन गर्नुको सट्टा रद्दिको टोकरीमा मिल्काए झै गरेर अनुत्तरदायी व्यवहार गरेको उल्लेख गरेका छन् ।
उनले भनेका छन्, ‘२०७५ साल जेठ २ गते नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रधानमन्त्री पद अढाई÷अढाई वर्ष बाँडिचुडी खाने निहित स्वार्थ केन्द्रीत पाँच बुँदे गोप्य सम्झौता गरी पार्टीमा अन्तरविरोध र समस्याको विजारोपण कन गर्नुभयो ? त्यस बेला पार्टीको विधि, नीति र निर्णय परिपाटीको सम्झना किन भएन ?’
एमसीसीको प्रतिवेदन किन सुनुवाइ भएन ?
उनले अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौताले नेपालको स्वाधिनता र राष्ट्रिय हिमा आँच पु¥याउने भएको तथा यस विषयमा बुझाइएको प्रतिवेदनप्रति पनि ओलीले सुनुवाइ नगरेको बताए ।
उनले भने, ‘कार्यदलले ठूलो मेहनत गरी बुझाएको प्रतिवेदनलाई तपाइले स्थायी कमिटीको बैठकमा किन छलफल गर्न दिनुभएन ? २०७७ साल जेठमा कार्यदलका संयोजक झलनाथ खनाल र मैले हस्ताक्षर गरी प्रतिवेदनमा छलफल गरी समस्याको अविलम्ब निराकरण गरियोस् भनी ६ पृष्ठ लामो पत्र पठाउँदा पनि तपाईले कुनै सुनुवाई नगर्नुको दुराशय के थियो ?’
प्रतिनिधिसभा किन विघटन गरेको ?
उनले कम्युनिष्ट पार्टीलाई झण्डै दुईतिहाइ स्थानमा जिताएर देश र जनताको हितमा काम गर्न दिएको सुनौलो अवसरमाथि घात गर्दै प्रतिनिधिसभा विघटन गरेको स्मरण गरे ।
‘संसद विघटनलाई संविधान विपरीत भन्दै सर्वोच्च अदालतले २०७७ साल फागुन २३ गते प्रतिनिधिसभाको पुनः स्थापनाको फैसला गरेको थियो । यस्तो हुँदाहुँदै तपाइले स्वेच्छाचारी किसिमले फेरी २०७८ साल जेठ ६ गते प्रतिनिधिसभाको दोस्रो पटक विघटन गर्नुभयो । यसले पार्टीमा अन्तरविरोध झनै चर्काएको होइन र ?’, उनले लेखेका छन्, ‘सहमतिमा पार्टी र जनसंगठनका सबै कमिटी र निकायहरु २०७५ साल जेठ २ गते पूर्वको अवस्थामा क्रियाशील हुने, पार्टीको वैधानिक व्यवस्था र एकतासँग मेल नखाने कुनै पनि तर्फका राजनीतिक र संगठनात्मक निर्णयहरु बदर गर्ने लगायतका कुरा समेटिएका थिए । तर पछि आफैंले स्वीकृति दिएको कार्यदलले निकै नै परिश्रम गरी तयार गरेको सहमति नमानेर द्वन्द्व चर्काउने तपाइ नै होइन र ? यसो गर्नु अनैतिक राजनीति र बेइमनी होइन र ?
पार्टी एकताका प्रयास विफल किन पारेको ?
उनले पार्टी एकाताका प्रयासहरु विफल तुल्याउन ओलीको मुख्य भूमिका रहेको आरोप लगाएका छन् । ‘ती प्रयासहरुलाई विफल तुल्याउन तपाईको मुख्य भूमिका रहेको होइन र ? यसरी पार्टीलाई विभाजनबाट बचाएर एकता कायम राख्नको लागि गरिएका गम्भिर, कष्टसाध्य र इमानदार प्रयत्न तथा महत्वपूर्ण सहमतिको कार्यान्वयन नगरी भताभुङ्ग गर्ने तपाई केपी ओलीले अरुतिर औंला ठड्याउनुको कुनै औचित्य हुन्छ र ?’
अमेरिकामा के सम्झौता भयो ?
डा. रावलले ओलीको पछिल्लो अमेरिका भ्रमणका सन्दर्भमा समेत भनेका छन्, ‘परराष्ट्रमन्त्री आरजु देउवा राणालाई स्टेट डिपार्टमेन्टमा पठाएर दुई देशबिच विविध पक्षमा परामर्श र छलफल गर्ने भन्ने रहस्यमय सम्झौता किन गर्न लगाएको ? सम्झौतामा के छ भन्नेबारे नेपाली जनतालाई किन जानकारी नगराउको ? त्यो सम्झौता संसदमा पेश हुन्छ कि हुन्न ?’
कार्यालय बनाउन व्यापारी र पार्टी दुवैतिर किन पैसा उठाएको ?
उनले पार्टी कार्यालय बनाउने सम्बन्धमा समेत असन्तुष्टि जनाएक छन् । ‘एकातिर पार्टी पङ्क्तिबाट भवन बनाउने भनी रकम उठाउने अर्कोतर्फ पार्टीको छवि धमिलिने गरी दानको नाममा विवादास्पद कम्पनीको नाममा रहेको जग्गा लिने कार्य के नेकपा (एमाले) को सिद्धान्त, नीति र परम्परासँग मेल खान्छ ? केही समय अघि भाटभटेनीको मूल्य अनुगमन गर्ने प्रमुख जिल्ला अधिकारीलाई तपाईले हप्कीदप्की गर्दै अनुगमन गर्न नदिएको र अहिले उक्त जग्गा लिने कुराको सम्बन्ध के हो र ?’























