काठमाडौं – गैर-आवासीय नेपाली संघ (NRNA) र टोयोटा नेपालका प्रतिनिधिहरूबीच सम्भावित सहकार्यका लागि छलफल भएको छ ।
आपसी सहकार्यका साझा आधार पहिचान गर्न केन्द्रित छलफलमा एनआरएनएले ‘सोसल पार्टनरशिप प्लान २.०’ र अन्य प्रायोजन अवसरहरू, विशेष गरी आगामी कार्यक्रमहरूमा सहकार्यका सम्भावनाहरूलाई प्राथमिकताका साथ प्रस्तुत गरेको थियो ।
टोयोटा नेपालका प्रतिनिधिहरूले एनआरएनएका परियोजनाहरूका लागि आवश्यक सवारीसाधन आपूर्तिमा सहकार्यको सम्भावनालाई जोड दिएका थिए ।
बैठकमा टोयोटा नेपालबाट रेखा शाह कार्की (डीजीएम– बिक्री तथा मार्केटिङ), महेन्द्र श्रेष्ठ (वरिष्ठ बिक्री प्रबन्धक) र सन्तोष कार्की (बिक्री प्रबन्धक) सहभागी थिए भने एनआरएनएबाट उपाध्यक्ष रोजिना प्रधान राई, प्रमुख कार्यकारी अधिकृत राजेन्द्र कुमार राउत र अधिकृत कुनाल मिश्र उपस्थित थिए ।
टोयोटा नेपालले आगामी चरणहरूको योजना समेटिएको विस्तृत प्रस्ताव प्रस्तुत गर्ने प्रतिबद्धता जनाएको छ। एनआरएनएले कार्यकारी नेतृत्वसँग प्रस्ताव समीक्षा गरी आफ्नो सहकार्य योजना प्रस्तुत गर्नेछ।
यो रणनीतिक संवादले साझा उद्देश्यलाई प्रभावकारी ढंगले हासिल गर्न दुवै संस्थाबीचको सम्भावनापूर्ण साझेदारीको शुरुवात गरेको एनआरएनएले जनाएको छ ।


विश्व खबर 




















