काठमाडौं– गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण २०२६ चीनको ग्वाझाओमा सुरु भएको छ ।
Aarohan 2026– Rising Together, Leading Forward मूल नाराका साथ आयोजित सम्मेलनको उद्घाटन एसिया प्यासिफिक क्षेत्रीय संयोजक दीपक कंडेलको अध्यक्षतामा भइरहेको छ ।
सम्मेलनमा विपक्षी दलका नेता तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीमप्रसाद आङ्देम्बेको प्रमुख आतिथ्यता रहेको छ भने परराष्ट्रमन्त्री शिशिर खनालले भर्चुअल माध्यमबाट सम्बोधन गरेका छन् ।

राजनीतिक दलका सांसद, परराष्ट्र मन्त्रालयका प्रतिनिधि, चीनस्थित नेपाली कूटनीतिक नियोगका अधिकारी तथा एनआरएनएका अग्रज नेतृत्वको सहभागिता छ ।
सम्मेलनमा डायस्पोराको पूँजी, ज्ञान र सीपमार्फत नेपालको आर्थिक विकास, लगानी तथा पर्यटन प्रवर्द्धन, सुरक्षित वैदेशिक रोजगार, गैरआवासीय नेपाली नागरिकता, महिला तथा युवा नेतृत्व र एनआरएनएको संस्थागत सुदृढीकरणलगायत विषयमा छलफल हुनेछ ।
१६ अगस्टमा ग्वाझाओ घोषणापत्र २०२६ जारी गरिनेछ भने १७ अगस्टमा सहभागीका लागि गुआङ्डोङस्थित गुलोङक्सिया प्राकृतिक क्षेत्रमा अवलोकन भ्रमणको कार्यक्रम तय गरिएको छ ।























