लन्डन– गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्व अध्यक्ष कुल आचार्यले आफ्नो तथा आफू सम्बद्ध होली काउ कम्पनीको तर्फबाट ११ लाख ११ हजार १११ रूपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा सहयोग गर्ने घोषणा गरेका छन् ।
नेपालमा हालै आएको भीषण बाढीबाट प्रभावित समुदायलाई राहत तथा पुनर्निर्माणमा सहयोग गर्ने विषयमा बेलायतस्थित नेपाली समुदाय, संघसंस्था तथा विभिन्न क्षेत्रका प्रतिनिधिहरूसँग नेपाली दूतावास लन्डनले आयोजना गरेको छलफलमा आचार्यले उक्त घोषणा गरेका हुन् ।
उनले जन्मभूमिको पुनर्निर्माणमा दीर्घकालीन सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे । उनले उद्धार तथा राहत वितरण कार्यमा जननिर्वाचित स्थानीय निकायलाई श्रोत साधन दिएर अरु बढी सक्रिय बनाउनु पर्ने बताए ।
यस्तै, नेप्लिज डक्टर्स एसोसिएशन यूकेकी अध्यक्ष डा. आरती थापाले तत्काल राहतका लागि शनिबार नै १० लाख रुपैयाँ प्रधानमन्त्री दैवी प्रकोप कोषमा पठाइसकेको जानकारी दिएकी छिन् । नेपालमै गएर सेवा गर्न बेलायतमा कार्यरत नेपाली चिकित्सकहरू तयार रहेको पनि उनले बताएकी छिन् ।
यसैगरी, आईएमई लन्डनका निर्देशक कमल पौडेलले प्रधानमन्त्री कोषमा रकम पठाउँदा आफ्नो कम्पनीले कुनै शुल्क नलिने घोषणा गरेका छन् ।























