काठमाडौं – मूल्यमा प्रभाव पार्ने सूचना समयमै नेपाल स्टक एक्सचेन्ज (नेप्से) लाई उपलब्ध नगराएको भन्दै विन्ध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेड को शेयर कारोबार रोक्का गरिएको छ ।
नेप्सेले कम्पनीलाई पत्र प्राप्त भएको मितिले तीन कार्यदिनभित्र स्पष्टीकरण पेस गर्न निर्देशनसमेत दिएको छ । कम्पनीले लाभांश वितरण, वार्षिक साधारणसभा आह्वान र बुक क्लोजसम्बन्धी निर्णय समयमै जानकारी नगराएको नेप्सेको भनाइ छ ।
नेप्सेको सूचीकरण शाखाका अनुसार कम्पनीको सञ्चालक समितिको बैठक गत असोज २६ गते दिउँसो ३ः३० बजे बसेको थियो। बैठकले वार्षिक साधारणसभा, बुक क्लोज र लाभांश वितरणसम्बन्धी महत्त्वपूर्ण निर्णय गरेको थियो ।
धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम २२ (१०) अनुसार धितोपत्रको मूल्यमा प्रभाव पार्ने सूचना तथा निर्णय सूचीकृत संस्थाले सोही दिन वा भोलिपल्ट कारोबार खुल्नुअगावै नेप्सेमा पेस गर्नुपर्छ ।
तर, विन्ध्यावासिनी हाइड्रोपावरले असोज २६ गते गरेको निर्णयसम्बन्धी जानकारी असोज २७ गते बेलुका ५ः५९ बजे मात्रै नेप्सेको अनलाइन प्रणाली मार्फत पठाएको पाइएको नेप्सेले जनाएको छ । बजार बन्द भएपछि सूचना पठाइएकाले नियमअनुसार समयमै जानकारी नदिएको नेप्सेको ठहर छ ।
सोही आधारमा नेप्सेले धितोपत्र सूचीकरण विनियमावली, २०७५ को विनियम १६ (१०) (ख) बमोजिम असोज २८ गतेको निर्णयअनुसार कम्पनीको शेयर कारोबार स्थगन गरेको हो ।
नेप्सेले निर्धारित समयभित्र सूचना उपलब्ध नगराउनुको कारण खुलाउन कम्पनीलाई निर्देशन दिएको छ। स्पष्टीकरण सन्तोषजनक नभएसम्म कारोबार फुकुवा हुने विषयमा अनिश्चितता रहनेछ ।
पूँजी बजारमा सबै लगानीकर्तालाई मूल्य संवेदनशील सूचनामा समान पहुँच सुनिश्चित गर्न यस्ता सूचना समयमै सार्वजनिक गर्नुपर्ने व्यवस्था । सूचना ढिलो सार्वजनिक हुँदा सीमित व्यक्तिले पहिले नै जानकारी पाउन सक्ने र त्यसबाट अन्य लगानीकर्ता प्रभावित हुन सक्ने जोखिम रहनेछ ।






















