images
images
  • सहकारी ठगी प्रकरणमा रविको बयान : ‘विश्वास गरेर चेकमा हस्ताक्षर गरेँ, साथीहरुले दुरुपयोग गरेछन्’

    काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले गोर्खा मिडियाबाट सहकारीको पैसा तिर्न प्रयोग भएका चेकहरू दुरुपयोग भएको बयान दिएका छन् ।

    गोर्खा मिडियाका सञ्चालक गितेन्द्रबाबु राईले आफूलाई समेत झुक्याएर गुमराहमा राख्ने काम भएको लामिछानेको भनाई छ ।

    रविसहितका व्यक्तिहरूविरुद्ध आइतबार कास्की जिल्ला अदालतमा सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरणको कसुरमा मुद्दा दर्ता भएको छ । तर, रविले आफूमाथि लागेका सबै आरोपको इन्कारी बयान दिएका छन् ।

    ‘मलाई लाग्छ प्रस्तुत चेकहरू या त मैले माथि उल्लेख गरे जस्तै मैले विश्वासमा हस्ताक्षर गरेर छोडेको खाली चेकहरूको दुरुपयोग हो,’ उनले भनेका छन्, ‘या त लगानीकर्ता गितेन्द्रबाबु राईको निर्देशन बमोजिम मेरो जानकारीबिना मलाई समेत झुक्यानमा पारी वा पहिला मलाई चेकमा दस्तखत गराईपछि सहकारीको नाउँ लेखेर भुक्तानी गराई मलाई समेत गुमराहमा राख्ने कार्य गरेको चेकहरू हुन सक्छन् ।’

    उनले आफूले कुनै पनि सहकारीसँग ऋण नलिएको र ऋणको प्रक्रियामा पनि सामेल नभएको बयानमा भनेका छन् ।

    ‘नयाँ कम्पनीमा कयौँ व्यक्ति, भेण्डर, वित्तीय संस्थाहरूलाई उनीहरूसँग गरिएको सम्झौता एवम् कार्यकारी अध्यक्ष तथा लगानीकर्ता गितेन्द्र राईको निर्देशनमा अनगिन्ती चेकहरू मार्फत भुक्तानी गएको थियो । हरेक भुक्तानीको प्रकृया लगानीकर्ता गितेन्द्र बाबु राईले आफ्नो नियन्त्रणमा राखी तह तहमा भेरीफाई (क्लियरिङ) गरी चेक जारी वा हस्ताक्षर गराउँथे,’ रविले बयानमा भनेका छन्, ‘हरेक चेकहरूसँग ती चेकहरू दिनुपर्ने कारण सहितको सपोर्टिङ डकुमेण्ट, बिल भौचर हुन्थे अथवा त्यस्तो नभएको अवस्थामा कार्यकारी अध्यक्षको निर्देशनबाट पनि चेकहरू दिइने प्रचलन हुन्थ्यो । त्यसमाथि मेरो कार्यकालमा उल्लिखित सहकारीहरूबाट कुनै ऋण लिने निर्णय भएको छैन, सहकारीबाट रकम ल्याउने विषयमा मसँग औपचारिक वा अनौपचारिक रूपमा सञ्चालक कोही कसैले कुनै पनि तवरबाट जानकारी वा सूचना गराईएको छैन/थिएन ।’

    गोर्खा मिडियामा कामको चाप र उपत्यका बाहिरको यात्रा गर्नु पर्दाको क्रममा कम्पनीको काम नरोकियोस भन्ने उद्देश्यले मैले कतिपय अवस्थामा कम्पनीका सञ्चालक समेतको निर्देशनमा विश्वास गरी खाली चेकमा समेत दस्तखत गरेर छाड्ने गरेको उनले बयानमा बताएका छन् ।

    ‘ति चेकहरूको दुरुपयोग गरी कम्पनीले सहकारी संस्थाको बैंक खाता लगायतमा चेक जम्मा गरेको भए मलाई थाहा हुने विषय थिएन । तर गोर्खा मिडियाले कुनैपनि सहकारी संस्था, व्यक्ति र कम्पनीसँग ऋण लिने भनि सम्झौता तथा बोर्ड निर्णय नगरेकाले उपरोक्त भुक्तानीहरू मेरो जानकारीमा रहेसम्म कुनै ऋणको किस्ता, साँवा वा व्याज होइनन्,’ रविले दिएको बयानमा उल्लेख छ ।

    तर, सोही प्रकरणमा बयान दिएका पूर्व डिआईजी छविलाल जोशीले भने सहकारीबाट पैसा ल्याउने काम गितेन्द्रबाबु राइले गरेको र खर्च गर्ने काम रवि लामिछानेले गरेकोले उक्त प्रक्रियामा कहिँकतै आफ्नो सहभागिता नरहेको बयान दिएका छन् ।

    जोशीले टिभी सञ्चालनका लागि भएका कर्मचारी, पत्रकार नियुक्ती, डेकोरेसन, भवन लगायतका सबै निर्णयमा रवि र जीबी सँगै रहेको पनि बयान दिएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images