काठमाडौं-आर्थिक मन्दीका कारण घरजग्गा कारोबारमा देखिएको शिथिलता हट्दै गएको छ । आर्थिक क्षेत्रमा समस्या कायमै रहेको अवस्थामा घरजग्गाको कारोबार भने बढ्दै गएको हो । मंसिर महिनामा मात्रै घरजग्गाको कारोबारको मुख्य सूचक मानिने नामसारीको गर्नेहरु संख्याले आधाले नौ बढेको हो ।
भूमि व्यवस्था तथा अभिलेख विभागका अनुसार मंसिर महिनामा देशभरमा ४ हजार ६९४ वटा घरजग्गा नामसारी भएको छ । अघिल्लो वर्षको मंसिर महिनामा ३ हजार २२४ वटा मात्रै जग्गा नामसारी भएको थियो । मंसिरको कारोबारसँगै यो अवधिमा कारोबारको कुल संख्या १८ हजार ९४१ पुगेको छ । यो अघिल्लो वर्ष पाँच महिनाको तुलनामा ३८.३९ प्रतिशत बढी हो । यसअघि कात्तिकमा ३ हजार ३६२ असोजमा २ हजार ८३५ भदौमा ३ हजार ८८८ र साउनमा ४ हजार १६२ पटक घरजग्गाको नामसारी भएको थियो ।
अघिल्लो वर्ष चार पाँच महिनामा १३ हजार ६८६ कारोबार भएको थियो । त्यसमध्ये मंसिरमा ३ हजार २२४ यसअघि कात्तिकमा १ हजार २२३ असोजमा ३ हजार २३७ भदौमा २ हजार ८४३ र साउनमा ३ हजार १५९ पटक घरजग्गाको नामसारी भएको थियो ।
कस्तो छ राजश्व संकलनको अबस्था ?
निश्चित अवधिमा कति बराबरको जग्गा कारोबार भयो भन्नेबारे मालपोत कार्यालयहरूले तथ्यांक प्रकाशित गर्ने गरेका छैनन् । जग्गाको न्यूनतम मूल्यांकन र कारोबार गरिएको मूल्य फरक फरक हुने र कतिपय अवस्थामा वास्तविक कारोबार मूल्य र घोषित कारोबार मूल्य समे फरक फरक हुने गरेको छ । सरकारले भने न्यूनतम मूल्यांकनभन्दा कम नहुने गरी जग्गा कारोबारमा राजश्व संकलन गर्ने गरेको छ ।
मंसिर महिनामा मात्रै जग्गाको कारोबारबाट कुल ३ अर्ब ८७ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये सबैभन्दा धेरै रजिस्ट्रेसन दस्तुरबापत २ अर्ब ६३ करोड, पुँजीगत लाभकरबापत १ अर्ब ३१ करोड, सेवा करबापत २६ करोड संकलन हुँदा ३७ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।
अघिल्लो वर्षको मंसिर महिनामा जग्गाको कारोबारबाट कुल २ अर्ब ८६ करोड रुपैयाँ राजश्व संकलन भएको छ । यसमध्ये रजिस्ट्रेसन दस्तुरबापत १ अर्ब ९५ करोड, पुँजीगत लाभकरबापत ९६ करोड, सेवा करबापत २२ करोड संकलन हुँदा ३१ करोड रुपैयाँ बराबरको छुट दिइएको छ ।
काठमाडौं उपत्यकामा अहिले कलंकी, चाबहिल, साँखु, लगनखेल, भक्तपुर, डिल्लीबजार, साँखु, टोखा र गोटीखेलमा मालपोत कार्यालय रहेका छन् । ती कार्यालयहरूमा अघिल्लो वर्ष कुल ३४३ वटा नामसारी भएकोमा यो वर्ष उक्त संख्या ४०४ वटा पुगेको छ । यो महिनामा भक्तपुर मालपोत जग्गाको सबैभन्दा धेरै नामसारी गर्ने कार्यालयको रूपमा अगाडि आएको छ ।
भक्तपुरमा घरजग्गा कारोबारमा संलग्न अनुप बस्नेत पछिल्लो समय जग्गाको मूल्य घटेको र आर्थिक अवस्था सुधारोन्मुख रहेका कारण यसअघि जग्गा किन्ने योजना बनाएर पनि स्थगित गरेकाहरूले अहिले किन्न सुरु गरेको बताउँछन् । खासगरी सुविधा पुगेका तर, मुख्य राजमार्गभन्दा टाढाको तुलनात्मक रूपमा सस्तो जग्गामा अहिले आकर्षण देखिएको उनको अनुभव छ ।
घरजग्गा व्यवसायीहरू कर्जाको ब्याजदर क्रमिक रूपमा घट्नु, बैंकिङ प्रणालीमा कर्जायोग्य रकम थुप्रिनु र बैंकहरूले घरकर्जालाई प्राथमिकतामा राख्न थालेसँगै कारोबार बढ्न थालेको बताउँछन्।त्यस्तै आगामी आर्थिक वर्षको बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गर्ने घोषणा भएसँगै व्यवसायीमा आशा पलाएको जग्गा व्यवसायी विनोद सुवेदीले बताए।
’बजेटमा घरजग्गा कारोबारमा सहजीकरण गरिने घोषणा हुनु र ब्याजदर पनि घट्दै जानुले व्यवसायी उत्साहित भएका छन्,’ उनले भने।सरकारको यो नीतिका कारण पनि कारोबार बढ्न थालेको उनको भनाइ छ।
रोक्का फुकुवामा सुधार

पाँच महिनाको अवधिमा १ लाख ५९ हजार ३९० पटक जग्गा रोक्काको काम हुँदा १ लाख २४ हजार ५५९ वटा फुकुवा भएका छन् । जग्गा रोक्कालाई ऋण लिएको र फुकुवालाई ऋण तिरेको मान्ने हो भने यो अवधिमा जग्गा धितोमा करिब ३५ हजार वटा नयाँ ऋण गएको देखिन्छ । अघिल्लो वर्ष रोक्का र फुकुवाको संख्याया क्रमशः १ लाख ५३ हजार ६९० र १ लाख १९ हजार २१० रहेको थियो । जसमा खुद रोक्का ३४ हजार ४८० वटा रहेको देखिन्छ ।
विभागका अनुसार यो मंसिर महिनामा मात्रै ३५ हजार १४६ पटक जग्गा रोक्का हुँदा २७ हजार ४९५ पटक फुकुवा भएको छ । अघिल्लो वर्षको मंसिरमा २९ हजार ६२६ पटक रोक्का हुँदा २५ हजार ४५४ पटक जग्गाको फुकुवा गरिएको थियो ।
त्यस्तै, कात्तिक महिनामा यो वर्ष २५ हजार ३० पटक रोक्का र २१ हजार ८०५ पटक फुकुवा भएको थियो जबकि अघिल्लो वर्ष यो संख्या क्रमशः १८ हजार ५९३ पटक र १५ हजार १५९ रहेको थियो ।
असोजमा यो वर्ष ३२ हजार ७३६ वटा रोक्का र २० हजार ९२३ वटा फुकुवा हुँदा अघिल्लो वर्ष यो संख्या क्रमशः ४१ हजार ९०५ वटा र २८ हजार १६० वटा रहेको थियो । भदौ महिनामा यो वर्ष ३६ हजार ८१९ वटा रोक्का र २५ हजार २६१ वटा फुकुवा भएको छ । अघिल्लो वर्ष एक महिनामा ३५ हजार ४३६ वटा रोक्का र २४ हजार १४ वटा फुकुवा भएको थियो ।
साउनमा भने यो वर्ष २९ हजार ६५९ वटा रोक्का हुँदा २९ हजार ७५ वटा फुकुवा भएका छन् । अघिल्लो वर्ष २८ हजार १३० वटा जग्गा रोक्का र २६ हजार ४२३ वटा फुकुवा भएका थिए ।
बैंकहरूकाे घरजग्गा कर्जाले काराेबारमा बढ्याे !

राष्ट्र बैंकको तथ्यांकअनुसार गत वर्ष माघमा कर्जाको औसत ब्याजदर १३.०३ प्रतिशत भएकामा चैत अन्तिमसम्म १२.८४ प्रतिशत भएको छ। बैंकहरूका अनुसार अब असारमा कर्जाको ब्याजदर थप घट्नेछ। ब्याजदर कम हुँदै जाँदा घरजग्गा कर्जाको माग पनि बढिरहेको एक बैंकरले बताए।
’आवासीय कर्जा हामीले दिइरहेका छौं,’ ती बैंकरले भने, ’अहिले कर्जाका लागि ग्राहकको सोधपुछ बढिरहेको छ। बर्खापछि आवासीय कर्जा अझै बढ्ने देखिन्छ।’
२०७९ जेठ २३ गतेदेखि भू–उपयोग नियमावली लागू भएपछि जग्गा व्यवस्थापन नयाँ ऐन–नियममा निर्देशित भएको थियो। स्थानीय भू–उपयोग परिषदबाट जग्गा वर्गीकरणको काम सुरू भएपछि जग्गाको कित्ताकाट रोकिएको थियो। योसँगै कारोबारमा पनि कमी आएको थियो। घरजग्गा कारोबारमा मन्दी आउँदा अर्थतन्त्रमा प्रभाव परेको भन्दै वैशाख ५ गते मन्त्रिपरिषद बैठकले कित्ताकाट खुलाउने निर्णय गरेको थियो।
यो कारणले पनि घरजग्गा कारोबार बढेको व्यवसायीहरूको अनुमान छ। भूमि, व्यवस्था तथा गरिबी निवारण मन्त्रालयले कित्ताकाट सहज बनाउने गरी नियमावली संशोधन गर्दैछ।
मन्त्रालयका सचिव दामोदर रेग्मीका अनुसार वर्गीकरणको समय थप गरिने तथा अशंबण्डा र मोहियानी हकदाबीमा आएको समस्या समाधान हुने गरी संशोधन गर्नेबारे छलफल भइरहेको छ।यी सबैले घरजग्गा व्यवसायमा सकारात्मक प्रभाव पारेको हो।
चालु आर्थिक वर्षको पहिलो महिना, साउनदेखि नै काठमाडौंमा घरजग्गा कारोबार सुस्त थियो। साउनमा १६ सय ५५ संख्यामा भएको कारोबार भदौमा भने एक्कासि बढेर दुई हजार पाँच सय ११ संख्या पुग्यो। तर यो कारोबारले निरन्तरता पाउन पाउन सकेन। असोजमा आएर आएर पुनः घट्यो। कात्तिकमा पनि उस्तै कारोबार भयो। असोजमा एक हजार पाँच सय ९६ संख्यामा कारोबार भएको थियो भने कात्तिकमा एक हजार पाँच सय ४७ संख्यामा कारोबार भएको छ।मंसिरमा भने घरजग्गा किनबेच थोरै उकालो लाग्यो देखिन्छ। मंसिरमा एक हजार नौ सय ८ संख्या र पुसमा एक हजार नौ सय ९ संख्यामा कारोबार भयो।
माघ फेरि केही बढेर दुई हजार एक सय ९० संख्यामा पुग्यो। फागुनमा दुई हजार एक सय ९६ संख्यामा कारोबार भयो।चैतमा दुई हजार दुई सय ५५ संख्यामा भएको कारोबार वैशाखमा एक हजार नौ सय २१ संख्यामा भयो।यसरी निरन्तर ओरालो लागिरहेको घरजग्गा कारोबार जेठमा भने उकालो लागेको छ। यही क्रम जारी रहे कारोबारले गति लिने व्यवसायीहरूले बताएका छन्।






















