मोरङ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महामन्त्री गगन थापालाई बढी बोल्नेले आफैलाई सिध्याउने र थोरै बोल्नेले अरुलाई सिध्याउने बताएका छन् ।
कांग्रेसको कोशी प्रदेशको पहिलो सम्मेलनलाई सम्बोधन गर्दै देउवाले गगनलाई ठट्यौली पारामा गहन कुरा भनेका हुन् ।
प्रदेश सम्मेलनमा सभापति देउवाले पार्टी महामन्त्री थापालाई लक्षित गर्दै बढी बोल्नेले आफूलाई सिध्याउने बताएका हुन् ।
सभापति भन्दा पहिले बोलेका महामन्त्री थापाले सभापति कम बोल्ने भएका कारण उनको पनि समय लिएर आफूले लामो समय बोलेको बताएका थिए ।
मन्तव्यको क्रममा थापालाई ठट्यौली शैलीमा जवाफ फर्काएका देउवाले ‘बढी बोल्नेले आफूलाई सिध्याउँने र कम बोल्नेले अरूलाई सिध्याउने बताएका हुन् । देउवाले यसो भन्दा हलभरी हाँसो गुञ्जिएको थियो ।
महामन्त्री गगन थापा पार्टीभित्र वाककला भएका नेतामध्येमा पर्छन् । स्थानीय तह उपनिर्वाचनको क्रममा कीर्तिपुरको आमसभालाई सम्बोधन गर्दै महामन्त्री थापाले सूचना प्रविधि पढ्ने विद्यार्थीहरुले अवको ४/५ वर्षपछि कीर्तिपुरमै बसेर महिनाको २ देखि ४ लाख रुपैयाँसम्म कमाउन सक्ने बताएका थिए । उनको उक्त क्लिपलाई सामाजिक सञ्जालमा मजाकको विषय बनाइएको थियो । उनलाई केहीले एमाले अध्यक्ष केपी ओलीकै शैलीमा ठूला ठूला कुरा गर्न थालेकोसमेत बताएका थिए ।
५/५ पटक प्रधानमन्त्री भइसकेका देउवा भने नेपाली राजनीतिमा सबैभन्दा कम बोल्ने नेता मध्येमा पर्छन् । कम बोलेपनि आफ्नो बोलीमा दृढ अडान लिने नेताको छवि पनि देउवाले बनाएका छन् । उनले एउटा चुनावी सभालाई समेत ५/१० मिनेट भन्दा बढी सम्बोधन गर्दैनन् । पत्रकारहरुले सोधेको प्रश्नको जवाफसमेत उनले १० देखि १५ सेकण्डमै दिएर हिड्ने गरेका छन् ।



















