काठमाडौं-गायिका स्मिता दाहाल विवाह बन्धनमा बाँधिएकी छिन् ।
शुक्रबार काठमाडौंको गोकर्णस्थित नर्लिङ रिसोर्टमा स्मिताले प्रेमी सायुज्य श्रेष्ठसँग विवाह गरेकी हुन् । स्मिता पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
अहिले विवाह समारोह भइरहेको छ । समारोहमा प्रचण्डका साथै राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाल, पूर्वप्रधानमन्त्री एवं नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, माओवादी केन्द्रका नेता जनार्दन शर्मा, कलाकारहरु हरिवंश आचार्य, किरण केसी, शिव श्रेष्ठ, केदार घिमिरे ‘माग्ने बूढा’, जितु नेपाल, सन्दीप क्षेत्री, संगीतकार चेतन सापकोटा लगायत उपस्थित छन् ।

लामो समयदेखि प्रेमसम्बन्धमा रहेका उनीहरुले यसैमहिना इन्गेजमेन्ट गरेका थिए। बबरमहलका सायुज्य एमबीए अध्ययन गरेका छन् भने व्यवसायी हुन्। स्मिताले भने अन्तर्राष्ट्रिय बजार व्यवस्थापन विषयमा स्नातकोत्तर गरेकी छन् ।
स्मिता पूर्वप्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की नातिनी हुन्। उनकी आमा गंगा दाहाल प्रचण्डको स्वकीय सचिवका रूपमा कार्यरत छिन्।स्मिताका ‘मायालु तिमी कता छौ’ लगायतका गीतहरु हिट छन् ।





















