काठमाडौँ – काठमाडौँ महानगरपालिकाले दरबारमार्गमा कार्यक्रम गर्दा फोहोर गरेपछि नेकपा एमालेलाई १ लाख रुपैयाँ जरिवाना गराएको छ ।
काठमाडौँ महानगरका मेयर बालेन शाहले एमालेले दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण भएको भन्दै १ लाख रुपैयाँ जरिवाना गराएका हुन् ।
काठमाडौँ महानगरका नगर प्रहरी निरीक्षक लिलाराज गाछाको हस्ताक्षरमा एमाले पार्टी कार्यालयका नाममा प्रेषित पत्रमा भनिएको छ, ‘प्रस्तुत विषयमा मिति २०८१ मंसिर ७ गते काठमाडौँ महानगरपालिका वडा नं.१ दरबारमार्गस्थित खुला सडकमा जागरण सभा गर्ने क्रममा सडक तथा सडकपेटीमा जथाभाबी फोहरमैला गरी वातावरण प्रदूषण गरेकोले तपाईँलाई फोहरमैला व्यवस्थापन ऐन, २०६८ र काठमाडौँ महानगरपालिकाको आर्थिक ऐन, २०८१ बमोजिम रु.१००,०००/०० अक्षरुपी एक लाख जरिवाना गरिएको ब्यहोरा निर्देशानुसार अनुरोध गर्दछु ।’
सत्तारूढ दल एमालेको शुक्रबार काठमाडौँको दरबारमार्गमा जागरण सभाको आयोजना गरेको थियो । सभामा करिब ५ हजार नेता कार्यकर्ता सहभागी भएका थिए ।
सभालाई एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्