images
images
  • बिषाक्त मदिरा सेवनका कारण सर्लाहीको एकै गाउँका ८ जनाको मृत्यु


    सर्लाही । बिषाक्त मदिरा सेवनका कारण सर्लाहीको एउटै गाउँका ८ जनाको मृत्यु भएको छ। जिल्लाको ब्रहम्पुरी गाउँपालिका वडा नम्बर ५ पडरिया टोलमा बिषाक्त मदिरा सेवनका कारण सोही टोलका ८ जनाको मृत्यु भएको हो।

    मृत्यु हुनेहरुमा ५ जना पडरिया टोल निवासी हुन् भने अन्य तीन जना सोही टोलमा रहेको नेपाल इँटा उद्योग र चन्दन इँटा उद्योगमा कार्यरत भारतीय मजदुर रहेको ब्रहम्पुरी गाउँपालिकाका स्वास्थय शाखा संयोजक उपेन्द्र राउतले जानकारी दिए।

    मृत्यु हुनेहरूमा पडरिया गाउँका ५० वर्षीय राम ईश्वर पासवान, ३९ वर्षीय दिनकर दास, ६५ वर्षीय कैलु दास, ५० वर्षीय जुगेश्वर माझी र २४ वर्षीय बलिन्द्र दास रहेका छन्। यस्तै भारतको उत्तर प्रदेशका ३५ वर्षीय दाताराम निसाद, ५५ वर्षीय शिवसागर निसाद र ३२ वर्षीय सर्वेस राम निसादको पनि मृत्यु भएको छ।

    उनीहरु सबैको पछिल्लो चार दिनभित्र मृत्यु भएको राउतले बताए। मृत्यु भएका आठै जनामा बान्ता हुने, पेट दुख्ने समस्या भएको तथा उपचारको क्रममा सर्लाहीको मलंगवा अस्पतालमा मृत्यु भएको उनले जानकारी दिए। उनीहरुले गाउँकै मदिरा पसलमा मदिरा सेवन गरेको राउतको भनाइ छ।

    चार दिनको अवधिमा एउटै टोलमा ८ जनाको मृत्यु भएपछि स्वास्थ्य निर्देशनालय जनकपुरका स्वास्थ्य निर्देशक डा।कमलेश यादवसहितको टोलीले गाउँमा पुगी निरीक्षण गरेको छ। निरीक्षणको क्रममा स्थानीयबासीहरु तथा मृत्यु भएकाहरुका आफन्तहरु डराएका कारणले केही बताउन नचाहेकोले बिषाक्त मदिरा सेवनकै कारण सबैको मृत्यु भएको हो भन्ने कुरा अहिले पुष्टि गर्न नमिल्ने राउतले बताए।

    ‘गाउँमा ८ जनाको मृत्यु भएपछि स्वास्थ्य निर्देशनालयको टोलीसहित हामी गाउँमा पुगेका थियौँ,’ उनले भने, ‘घटनाको बारेमा सोधपुछ गर्दा कसैले पनि बताउन नचाहेकाले यथार्थमा मदिरा सेवनकै कारणले मृत्यु भएको भन्ने कुरा अहिले पुष्टि गर्न मिल्दैन।’

    मृत्यु हुने सबैजना मदिरा सेवनकर्ताहरु भएको तर पोष्टमार्टम र भिसेरा रिपोर्ट नआएसम्म बिषाक्त मदिराकै कारण ज्यान गएको भन्न नमिल्ने स्वास्थ्य निर्देशनालय जनकपुरका डा. यादवले बताए। उनले मृतकहरुको भिसेरा परीक्षणको लागि काडमाडौँ पठाउने तयारी भइरहेको जानकारी दिँदै त्यसको रिपोर्ट आएपछि थप कुरा खुल्ने बताए।

    ‘हामीले मृतकहरुको भिसेरा परीक्षणको लागि काठमाडौँ पठाउने तयारी गर्दैछौँ,’ उनले भने, ‘त्यसको रिपोर्ट आएपछि मात्रै थाहा हुन्छ कि कसरी मृत्यु भयो।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images