images
images
  • क्यानडालाई नेपालको जलविद्युतमा लगानी गर्न इप्पान अध्यक्ष कार्कीको आग्रह

    काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान)का अध्यक्ष गणेश कार्कीले क्यानेडियन लगानीकर्तालाई नेपालको जलविद्युतमा लगानी गर्न आग्रह गरेका छन् ।

    क्यानेडियन ड्याम एसोसिएसनले आयोजना गरेको ड्याम सुरक्षा सम्बन्धी कार्यक्रमलाई मङ्गलवार सम्बोधन गर्दै अध्यक्ष कार्कीले नेपालमा उत्पादित विद्युतको बजार सुनिश्चित भएकाले लगानी गर्नुपर्ने बताएका हुन् ।

    उनले भने, ‘सरकारले आगामी १० वर्षमा २८ हजार ५०० मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य सहितको रोडम्याप अघि सारेको छ । नेपालको जलविद्युत् उत्पादन क्षमता कम्तीमा ७२ हजार मेगावाट छ । यसको लागि नेपालमा ठुलो लगानीको खाँचो रहेकोले क्यानेडियन लगानीकर्ताहरूलाई नेपालमा लगानी गरेर राम्रो प्रतिफल लिन गर्न आग्रह गर्दछु ।’

    कार्कीले नेपालमा जलविद्युत उत्पादनको अथाह सम्भावना हुँदाहुँदै पनि अहिलेसम्म ३ हजार मेगावाट मात्रै विद्युत् उत्पादन भएको र ४ हजार मेगावाट क्षमताका आयोजनाहरू निर्माणाधीन रहेको बताए । विद्युत् खरिद बिक्री सम्झौता (पीपीए) भएर वित्तीय व्यवस्थापनको पर्खाइमा रहेका आयोजना पनि ४ हजार मेगावाट क्षमताका रहेको, १० हजार मेगावाटका आयोजना पीपीएको पर्खाइमा रहेको र थप १० हजार मेगावाट क्षमताका आयोजना अध्ययनको विभिन्न चरणमा रहेको कार्कीको भनाइ थियो ।

    नेपाली विद्युतको बजार पनि सुनिश्चित भएको भन्दै कार्कीले भारतमा १० हजार मेगावाट निर्यातको समझदारी भइसकेको र बङ्गलादेशमा पनि ५ हजार मेगावाट निर्यातको लागि पहल भइरहेको बताए ।

    अहिले भारतमा १ हजार मेगावाट विद्युत् निर्यात भइरहेको र बङ्गलादेशमा ४० मेगावाट निर्यातको लागि सम्झौतामा हस्ताक्षर हुन मात्रै बाँकी रहेको कार्कीले बताए । सन् २०४० सम्म बङ्गलादेशले नेपालबाट ९ हजार मेगावाट विद्युत् आयात गर्नुपर्ने प्रक्षेपण गरेको पनि उनले बताए ।

    दुई ठुला उदीयमान अर्थतन्त्र भारत र बङ्गलादेशमा विद्युतको माग जति पनि रहेको र नेपालमा ठुलो परिमाणमा उत्पादनको सम्भावना भएकोले जलविद्युतमा गरिएको लगानीले राम्रो प्रतिफल दिने कार्कीको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images