काठमाडौं । नेपाल टेलिकमको कुल आय र मुनाफा दुबै घटेको छ । टेलिकमले सार्वजनिक गरेको गत आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण अनुसार कुल सञ्चालन आय र खुद मुनाफा घटेको हो ।
ओटीटी सेवाको प्रयोगमा भएको वृद्धि, विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा बढ्दो लागत लगायत कारणले मुनाफा घटेको टेलिकमले जनाएको छ ।
टेलिकमले आर्थिक वर्ष २०८०/८१ मा ६ अर्ब ६१ करोड ७७ लाख ७६ हजार रुपैयाँ मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्ष २०७९/८० मा ७ अर्ब ९२ करोड १ लाख ५५ हजार रुपैयाँ बराबरको मुनाफा कमाएको थियो । अघिल्लो आर्थिक वर्षको तुलनामा कम्पनीको मुनाफमा १६ दशमलव ४४ प्रतिशत अर्थात १ अर्ब ३० करोड २३ लाख रुपैयाँले कमी आएको हो ।
आर्थिक वर्ष २०८०/८१ मा कम्पनीकिो कुल आय ४१ अर्ब ६१ करोड ७१ लाख रुपैयाँ थियो । यो आय अघिल्लो आर्थिक वर्षको तुलनामा ६ दशमलव ३२ प्रतिशत अर्थात २ अर्ब ८० करोड ६५ लाख रुपैयाँले कम हो ।
अघिल्लो आर्थिक वर्ष २०७९/८० मा टेलिकमको आय ४४ अर्ब ४२ करोड ३६ लाख रुपैयाँ थियो । बैंक ब्याजदरमा भएको परिवर्तनका कारण वित्तीय आम्दानी करीब १ अर्ब २९ करोड ७३ लाखले कमी आएको टेलिकमले जनाएको छ ।
ओटीटी सेवाको बढ्दो प्रयोगका कारण अन्तर्राष्ट्रिय सेवाको तथा अन्तरआवद्धता आयमा गत आर्थिक वर्षको तुलनामा करीब १ अर्ब ४३ करोड ८४ लाख रुपैयाँ कमी आएको कम्पनीको दाबी छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस र एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले जनाएको छ ।


विश्व खबर 




















