images
images
  • सहसचिव हमालको संयोजकत्वमा ‘छाउपडी’ समिति गठन

    काठमाडौं- सहसचिव गोगन हमालको संयोजकत्वमा ‘छाउपडी’ समिति गठन भएको छ ।

    गृह मन्त्रालयले मन्त्रालयको आन्तरिक व्यवस्थापन महाशाखा प्रमुख ई. गोगन बहादुर हमालको संयोजकत्वमा चार सदस्यीय छाउपडी सम्बन्धी विगत, वर्तमान र भावी कानुनी नीतिगत सुधार र कार्यान्वयन सम्बन्धी समिति गठन गरेको हो ।

    एक महिना समयावधि दिइएको उक्त समितिमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, महिला विकास मन्त्रालय र नेपाल प्रहरीको महिला सेल हेर्ने डीएसपी सदस्य रहेका छन् ।

    पप्रधान एवं गृहमन्त्री रवि लामिछानेले अछाम जिल्लाको छाउगोठमा भएको घटनाका बारेमा राष्ट्रिय सभामा जानकारी गराउँदै मन्त्रालयले छाउपडी प्रथाको अन्त्यका लागि समिति गठन गरेको बताएका छन् ।

    गृहमन्त्री लामिछानेले छाउपडी प्रथाको अन्त्यका लागि विगतमा भएका अध्ययन, अनुसन्धान र विज्ञहरूसँग सल्लाह लिई समितिले दिएको सुझाव र प्रतिवेदनका आधारमा नीति बनाउने काम हुने बताए ।

    गत असार ४ गते अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर २ बस्ने १६ वर्षकी किशोरी छाउगोठमा बलात्कृत भएको विषयबारे संसदमा जानकारी गराउँदै उनले आगामी दिनमा यस किसिमका घटना हुन नदिन लिई कानुनी, नीतिगत, सामाजिक, अभियानका रूपमा यसलाई नियमन गर्न, नियन्त्रण गर्न र यो प्रथालाई अन्त्य गर्नेतर्फ कदम चाल्न समिति निर्माण गर्ने र समितिले दिएको प्रतिवेदनमा टेकेर नीतिगत निर्णय गर्ने र विभिन्न अभियान सञ्चालन गर्ने निर्णय गरेको बताए ।

    गृहमन्त्री लामिछानेले अछाममा छाउगोठमा बसेकी किशोरीको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको र बलात्कारीको आरोपमा एक जनालाई पक्राउ गरी अनुसन्धान भइरहेको बताए ।

    गृहमन्त्री लामिछानेले भविष्यमा यस्ता घटना दोहोरिन नदिन छाउपडी प्रथाको अभ्यास भएका जिल्लामा स्थानीय प्रशासनबाट भइरहेका कार्यको समीक्षा गर्ने, निरोधात्मक कार्यक्रम सञ्चालन गर्ने निर्देशन दिइसकेको पनि बताए ।

     

    प्रतिक्रिया दिनुहोस्
    images
    images