काठमाडौं । यसपालीको मनसुन निकै जोखिमपूर्ण हुने अनुमान गरिएको छ । पोहोर औसत बराबर पानी पर्ने प्रक्षेपण हुँदा ठूलो मानवीय क्षति व्यहोर्नु परेको थियो ।
यो पल्ट सरदरभन्दा बढी वर्षा हुने आँकलन गरिएको छ । त्यही कारण यो पल्ट मनसुन झन् जोखिमपूर्ण हुने अनुमान मौसमविद्ले गरेका छन् । जल तथा मौसम विज्ञान विभागले यसअघि नै मुलुकमा मनसुनमा सरदरभन्दा बढी पानी पर्ने प्रक्षेपण गरिसकेको छ ।
त्यो चेतावनीसँगै आम नागरिक र सरोकार राख्ने निकाय थप सावधानी र सचेत हुनुपर्ने राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत अनिल पोखरेल बताउँछन् ।
यो पल्ट मुख्यगरी बाढी पहिरोबाट १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरिएको छ । पोखरेलले भनेका छन्, ‘एक त बढी नै वर्षा हुने आँकलन छ, कोभिडको महामारीले विगतको भन्दा जोखिम छ, डढेलोले पहाड नाङ्गो पारिसकेकाले जोखिम क्षेत्रबाहेकमा पनि थप पहिरो खस्ने सम्भावना छ, गरिबी पनि बढेकाले मुलुक थप चुनौतीपूर्ण अवस्थामा गुज्रिएको छ । त्यसलाई केन्द्रित गरेर नै पूर्व तयारी र प्रतिकार्य याजना अघि बढाएका छौँ ।’
विगतको तथ्याङ्क विश्लेषणको आधारमा प्राधिकरणले यो पल्ट मनसुनी अवधिमा १८ लाख बढी मानिस प्रभावित हुने अनुमान गरेको हो । प्राधिकरणका सिनियर डिभिजनल हाइड्रोलोजिष्ट राजेन्द्र शर्माले बाढीबाट १७ लाख र पहिरोबाट एक लाख २० हजार प्रभावित हुने अनुमान गरिएको जानकारी दिए , पोहोर १५ लाख प्रभावित हुने अनुमान गरिएको थियो ।
सरदर मात्रै पानी पर्ने अनुमान गरिएको गत वर्ष मनसुनजन्य विपद्बाट झण्डै ४०० जनाको मृत्यु भएको थियो । एक हजार १०० बढी परिवार प्रत्यक्ष प्रभावित भए । यो पल्ट बढी पानी पर्ने पूर्वानुमानसँगै मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना २०७८ तयार गरी स्थानीय तह, प्रदेश सरकार तथा सम्वद्ध संघसंस्थासँगको समन्वयमा विगतको अनुभवबाट सिकेर आवश्यक पूर्व तयारी थालिसकिएको छ ।
प्राधिकरणका उपसचिव वेदनीधि खनाल भन्छन्, ‘विगतका वर्षको अनुभव हेर्दा साउनअसोजमा बढी प्रभाव पारेको देखिएको छ ।’ उनले बाढीपहिरोका दृष्टिले नेपालको सबै ठाउँ जोखिममा रहेको बताए । । खनालले यो पल्ट विगतको भन्दा झण्डै १२ गुणा बढी आगलागी भएकाले थप क्षति हुनसक्ने सम्भावना देखाए ।


विश्व खबर 



















