खजुरा- १७ असोजस नेपालगञ्जमा लागेको ‘कफ्र्यू’का कारण नेपाल–भारत सीमानाका जमुनाहामा अलपत्र परेका नेपालीलाई गन्तव्यतर्फ पठाउन सुरु गरिएको छ ।
कर्फ्यूका कारण सीमा क्षेत्रमा रोकिएका नेपालीलाई गन्तव्यसम्म पठाउन सुरु गरिएको इलाका प्रहरी कार्यालय जमुनाहाका इन्चार्ज प्रहरी वरिष्ठ नायब निरीक्षक मीनबहादुर विष्टले बताए ।
उनका अनुसार सीमा क्षेत्रमा रोकिएका नेपाली नागरिक झन्डै २ हजारको संख्यामा अलपत्र अवस्थामा रहेका छन् । यातायात व्यवसायीसँग समन्वय गरेर सीमा क्षेत्रमा रोकिएका सबै यात्रुलाई सुरक्षित गन्तव्यसम्म पठाउन थालिएको हो ।
जमुनाहादेखि राँझासम्म पहिलो चरणमा करिब ५ सय नेपाली पठाइएको प्रहरीले जनाएको छ । भारतबाट फर्केका नेपालीमध्ये रातीदेखि नाकामा अलपत्र परेका छन् ।
‘करिब ५ सय जति यात्रुलाई ९ वटा बसमा जमुनाहादेखी राँझा चोकसम्म पठायौँ,’ उनले नागरिकसँग भने ‘अझै १४/१५ सयको हाराहारीमा नाकामै छन्, यिनीहरूलाई गन्तव्यमा पठाउन थप बसहरू आउँदै छन्।
भारतबाट फर्केका नेपालीले आफूहरू मध्यरातबाट नाकामा अलपत्र परेको बताइरहँदा वरिष्ठ सई विष्टले भने बिहान साढे ६ बजे मात्र सीमा क्षेत्रमा उनीहरू आई पुगेको दाबी गरेका छन्। अधिकांश नेपाली नागरिक भारतको सिमला लगायत ठाउँबाट आएका हुन्। नजिकिँदै गरेको दसै मनाउनका लागि अधिकांश व्यक्ति परिवार सहित फर्केका छन्।
नेपालगन्जमा तनाव उत्पन्न भएपछि स्थानीय प्रशासनले मंगलबार दिउँसो देखी अनिश्चित कालिन कर्फ्यु लगाएको थियो।





















