काठमाडौं- संविधानसभाका अध्यक्ष एवं नेकपा (एमाले) का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीर यतिबेला पशुपति आर्यघाट पु¥याइएको छ।
बालुवाटारस्थित निवासबाट सुरु भएको शवयात्रा त्रिवि शिक्षण अस्पताल, महाराजगञ्ज, चाबहिल हुँदै अन्त्येष्टिका पशुपति आर्यघाट लगिएको हो।
त्यहाँ राजकीय सम्मानसहित नेम्वाङको अन्त्येष्टि प्रक्रिया जारी छ। फूलमालाले सजाइएको चितामा नेम्वाङको पार्थिव शरीर राखिएको छ ।
त्यहाँ परिवारका सदस्यहरुले अन्तिम श्रद्धाञ्जली अर्पण गरेपछि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको झण्डा ओढाएका छन् । अन्तिममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय झण्डा ओढाएका थिए । अब उनको दाहसंस्कार गरिने छ ।
यसअघि नेम्वाङको पार्थिव शरीर बालुवाटारस्थित निवासबाट मुन्धुम सँस्कृति अनुसारको विधिपूर्वक उठाइएको थियो । उनको अन्त्येष्टि मुन्धुम र हिन्दु सँस्कृति अनुसार गरिँदै छ ।
संविधानसभा अध्यक्ष नेम्वाङलाई अन्तिम बिदाई गर्न पशुपतिमा पनि सर्वसाधारणको उल्लेख्य संख्यामा उपस्थिति छ ।
गत मंगलबार निधन भएका नेम्वाङको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिँदै छ । उनको निधनको शोकमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।
प्रतिक्रिया दिनुहोस्